यौनजन्य हिंसा अन्त्यको माग गर्दै भरतपुरमा वृहत प्रदर्शन (फोटो फिचर)

चितवन, ०८ भदौ । यौनजन्य हिंसा अन्त्यको माग गर्दै चितवनमा वृहत प्रदर्शन गरिएको छ । पछिल्लो समय देशभरी बढिरहेको महिला तथा बालिकाहरुमाथी हुने गरेको यौनजन्य घटनाकाको विरोध गर्दै चितवनमा प्रदर्शन गरिएको हो ।

मुलकका अन्य जिल्लाहरुमा जस्तै चितवनमा पनि बलात्कारका घटनाहरु बढ्दै गएकोले बलात्कारीलाई कडा सजायको माग गर्दै चितवनमा विभिन्न संघसंस्थाहरुले प्रदर्शन गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै अधिकारकर्मी मिना खरेलले बलात्कार सम्बन्धी कानुनमा संशोधन गर्दै बलात्कारीलाई सर्वस्व सहित आजिवन कारावासको सजाय माग गरिन् ।

एसिड आक्रमणबाट गरिने हिंसामा व्यवस्था गरिएको सजाय कम भएकाले त्यसमा जन्म कैदको व्यवस्था गरिनुपर्ने भन्दै जिल्लाका ३५ भन्दा बढी संघसंस्थाले शुक्रबार प्रदर्शन गरेका हुन् । यौनजन्य हिंसा अन्त्यका लागि सबै नागरिक सचेत हुनपर्ने तथा पुरुषहरुबाट हिंसा हुने भएकाले उनीहरुको मानसिकतामा परिवर्तन गराउनु जरुरी रहेको अधिवक्ता एवम् अधिकारकर्मी कृष्ण पन्त बताउँछन् ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु परिवार तथा समाजबाट नै हुने गरेकोले यौनजन्य हिंसा अन्त्यका लागि हरेक घरबाट अभियान चलाउनु पर्दछ । यौनजन्य घटनाहरु भएमा कानुन कार्यान्वयन गर्ने निकायमा जानकारी गराउन आग्रह गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीले दोषीलाई तत्काल कारबाही गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिवद्धता जनाए ।

चितवनमा दुई वर्षीया बालिकादेखि ८० वर्षीया वृद्धासम्म बलात्कारमा परेका छन् । यौनजन्य हिंसाबाट समाजलाई मुक्त पार्नका लागि सचेतना फैलाउनुका साथै बलात्कारीलाई कडा सजायको व्यवस्था हुनुपर्दछ ।