दुई मेडिकल कलेजको कमिसन चक्करले चेपुवा पर्दै भरतपुर अस्पताल, चितवन प्रशासनको ध्यान कता ?

प्रस्ताव सुवेदी
चितवन, ८ भदौँ । जिल्लामा रहेको भरतपुर अस्पताललाई सवारी दुर्घटनामा घाईते भन्दा शब ल्याउने थलोको रुपमा बिकास भएको छ । जिल्लामा हुने दुर्घटनामा परि घाईते भएकाहरु निजी अस्पतालमा लगिन्छ भने शब पोष्टमाटमका लागि सरकारी अस्पताल ल्याउने गरिएको छ । यसरी हेर्दा सरकारी अस्पताललाई शब एम्बुलेन्स चालकहरुले शबगृहको रुपमा लिने गरेका स्पष्ट हुन्छ । वुधबार मात्रै होईन जिल्लामा जहिल पनि हुने दुर्घटनमा घाईतेलाई निजी अस्पतालमा लगिन्छ भने शब भरतपुर अस्पतालमा पोष्टमाटका लागि लाने गरीन्छ । व्यवसायीहरुले निजी अस्पतालहरुमा कमिसन पाउने भएकाले सरकारी अस्पतालमा ल्याउदैनन् ।
बुधबार चितवनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको थियो भने ३३ जना घाईते भएका थिए । मृत्यु हुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षिय काजिराम योगी रहेका छन् । घाईते मध्ये २७ जनाको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडीकल कलेज)मा उपचार भईरहेको छ भने ६ जनाको सरकारी अस्पतालमा उपचार गराईएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ४ ख ७५१३ नंवरको बस र विपरित दिसाबाट आउँदै गरेको लु १ ख ७४०६ नंवरको ट्रक भरतपुर महानगरपालिका वडा नंवर २९ खहरे खोलामा एक आपसमा ठोकिएको हो ।
चालु आर्थिक वर्षको दुई महिना चलि रहँदा जिल्लामा २३ वटा सवारी दुर्घटना भएका छन् भने २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्यांक अनुसार सवारी दुर्घटनाबाट एक महिनाको अवधिमा १ सय २० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाईते मध्ये अधिकाशंको उपचार निजि मेडिकल कलेजमा भएको पाईएको छ । बुधबार चितवनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको थियो भने ३३ जना घाईते भएका थिए । घाईते मध्ये २७ जनाको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडीकल कलेज)मा उपचार भईरहेको छ भने ६ जनाको सरकारी अस्पतालमा उपचार गराईएको छ ।
धेरै घाइतेहरु अहिले पनि अस्पतालमै छन् । गत साउन ११ गते इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा बस त्रिशुली नदी किनारमा खस्दा ८ जनाको मृत्यु भयो भने १८ घाइते भए । साउन २० गते भरतपुर महानगरपालिका वडा नं ५ मा भएको म्याजिक भ्यान दुर्घटनामा १ जनाको मृत्यु भयो भने ९ जना घाइते भए । यस्तै राति रत्ननगरनगरपालिका वडा नं १० भानुचोकमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भयो भने १७ जना घाइते भए ।
दुर्घटनामा परी घाइते भएकाहरुको उपचार चितवनका ठूला दुई निजी मेडिकल कलेजहरुमा गरिएको छ भने, भरतपुर सरकारी अस्पताललाई शव गृहको रुपमा लिने गरिएको छ । यो अहिलेको दुर्घटनाको मात्रै विषय होइन । लामो समय देखि नै चितवनमा यस्तै हुँदै आएको छ । दुर्घटनामा परेका घाइतेहरुलाई निजी मेडिकल कलेजमा लगिन्छ र मृतकका शव भरतपुर अस्पतालमा राखिन्छ ।
एम्बुलेन्स चालक र प्रहरीलाई सरकारी अस्पतालमा घाईते लाने भन्दा शव लाने बानि परीसेको छ । प्रहरीले घटना स्थलबाट घाईतेको उद्धार गरेर पठाउने कामलाई प्रथामिकतामा राखेर उद्धार गर्ने र एम्बुलेन्स चालकले निजि अस्पतालहरुमा बिरामि पुर्याउने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिब शर्मा आचार्यले बताउनु भयो । तर चितवनका एम्बुलेन्स चालकहरुले कमिसनको चक्करमा लागेर निजि अस्पतालमा दुर्घटनाका घाईतेहरु पुर्याउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले दुर्घटनाका घाईतेहरुलाई सरकारी अस्पतालमा प्रथामिकता दिनु पर्ने भन्ने निर्णय समेत गरेको छ । तर प्रशासनको निर्णयलाई लत्याउँदै एम्बुलेन्स चालकहरुले घाईतेहरुलाई निजि अस्पतालमा पुर्याउने गरेका छन् ।
दुर्घटनामा घाईते भएकाहरुमा कसैको मृत्यु भएमा त्यो शवलाई सरकारी अस्पतालमा ल्याएर राख्ने गरिन्छ । निजी अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएका वा घटना स्थलमा मृत्यु भएका मृतकहरुलाई पोष्टमार्टमका लागि भन्दै सरकारी अस्पतालमा र्पुयाइन्छ । निजी अस्पतालले प्रायः पोष्टमार्टम गर्दैनन् ।
कार्यालयका प्रबक्ता आचार्यका अनुसार धेरौ जना घाईते भएको समयमा एउटा अस्पतालमा मात्रै घाईते राख्दा सेवा प्रभाबकारी रुपमा दिन कठिन हुने भएकाले सबै अस्पतालमा बाँडेर घाईते राख्ने गरिएको बताउनु भयो । चितवनका निजी अस्पतालहरुमा उपचार राम्रो हुन्छ भन्ने जनमानसको बुझाईका कारण पनि घाईतेलाई निजी अस्पतालमा लगिने गरेको उहाँले बताउनु भयो । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा बिशेषज्ञ सेवा सहितको सुबिधा उपलब्ध छ भन्ने विषयमा जानकारी गराउन आबश्यक रहेको उहाँले बताउनु भयो ।
यति मात्रै होईन चितवनका केहि मेडिकल कलेज र अस्पतालहरुले बिरामी ल्याए वापत एम्बुलेन्स चालकहरुलाई कमिसन दिने गरेका छन् । सरकारी अस्पतालमा ल्याउँदा कमिसन नपाउने भएकाले पनि एम्बुलेन्स चालहरुले सरकारी अस्पतालमा घाइृते तथा बिरामी लान खासै चासो दिदैनन् । मेडिकल कलेजहरुले सडकमा कतै दुर्घटना भए ती घाइते बिरामीहरुलाई तत्काललाई उधारोमा उपचार गराउने र पछि बिलबमोजिमको रकम भुक्तानी लिने गरेका छन् ।
दुर्घटनामा परेर कसैको मृत्यु भएमा सीधै ५ लाख रुपौयँ बीमा कम्पनीले मृतकका पीडित परिवारलाई उपलब्ध गराउँछ । दुर्घटनामा घाइते भएर उपचार गराउनेको हकमा तीन लाखसम्मको रकम बीमा कम्पनीले उपलब्ध गराउँछ । त्योभन्दा बढीको रकम समितिले नै तिर्ने गर्छ । चितवनको भरतपुर मेडिकल कलेजमा करीव ३० वटा यातायात व्यवसायी समितिले सम्झौता गरेको प्रशासकीय अधिकृत हिमनाथ घिमिरेले जानकारी दिनु भयो । त्यस्तै, चितवन मेडिकल कलेजमा १२ वटा यातायात समितिले बाषिर्क सम्झौता गरेका छन् ।
चितवनका दुई ठूला मेडिकल कलेजको जस्तो सुविधा भरतपुर अस्पतालमा पनि उपलब्ध छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा. रविन खड्काका अनुसार भरतपुर अस्पताल दुर्घटनाका घाइतेहरुको गुणस्तरीय उपचार गराउन सक्षम छ, तर यातायात समितिलाई कमिसन दिन सक्दैनौ । जसका कारण यातायात समितिले दुर्घटनाका घाईतेहरुलाई सरकारी अस्पतालमा ल्याउन चाहादैनन् । भरतपुर अस्पतालमा अर्थोपेडिक, न्यूरो, जनरल सर्जनहरुको टीम उपलब्ध छ । यसका साथै स्पाइनल सर्जन र पुर्नः स्थापना केन्द्र एवम फिजियोथेरापी सेवासमेत उपलब्ध रहेको छ । तर अस्पतालले घाईते वा बिरामी ल्याए बापत कमिसन नदिदाँ दुर्घटनाका घाईतेहरु निजी अस्पतालमा लाने गरीएको छ ।
तर यसलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय चितवनले भने खासै ध्यान दिन सकेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आँफुहरुले अनौपचारीक रुपमा सबै व्यवसायीहरुलाई घाईतेहरुलाई भरतपुर अस्पताल लान आग्रह गरेको बताउनु भयो । तर आँफु आउनु भन्दा पहिला भएको निर्णय कार्यान्वयनमा व्यवसायीहरुले अटेर गर्दै आएको उहाँले बताउनु भयो । सुरुवातमा सरकारी अस्पतालमा लगरे पछि त्यहा उपचार नभए अन्य अस्पतालमा लानु पर्ने उहाँले बताउनु भयो । यस विषयमा उद्धारमा खटिनेको पनि केहि कम्जोरी भएको हुन सक्ने भन्दै उहाँले अबका दिनमा यस्तो हुन नदिन यातायात व्यवसायीहरु र उद्धारमा खटिनेहरु संग छलफल गर्ने बताउनु भयो । प्रशासनले गरेको निर्णय कार्यान्वयन नगर्नेलाई कारवाहिको दायरामा ल्याईने उहाँले बताउनु भयो ।

Promise Education Consultancy