चितवनका सुनचाँदी पसल खुले

चितवन, ०७ भदौ । सुन नपाएको बिरोधमा दुई दिनदेखि बन्द गरिएको चितवनका सबै सुनचाँदी पसल बिहीबारदेखि नियमितरुपमा सञ्चालनमा आएका छन् ।
नेपाल सुनचाँदी व्यावसायी संघ चितवनले आह्वान गरेको दुई दिने पसल बन्द कार्यक्रमअन्तर्गत मंगलबार र बुधबार जिल्लाका सबै सुनचाँदी पसल बन्द गरिएको थियो । मागअनुसार सुन नपाएपछि संघ आन्दोलनमा उत्रिदै सम्पूर्ण पसल बन्द गराएको हो । संघका अध्यक्ष जीवनज्योति सदाशंकरले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार र बुधबार जिल्लाका सबै सुनचाँदी पसल बन्द गरेको र बिहीबारबाट नियमितरुपमा सञ्चालन गरिएको जानकारी दिए ।
सरकारसँग पटक–पटक मागबमोजिम सुन उपलब्ध गराउन आग्रह गरिएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको सदाशंकरले बताए । व्यवसायीहरुले नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या आएको आरोप लगाएका छन् । चितवनको बजारमा सातामा पाँच केजी सुनको माग हुने गरेको भएपनि नेपाल राष्ट्र बैंकले सातामा २ केजी मात्रै सुन उपलब्ध गराउने गरेकाले बजारमा सुन अभाव देखिएको व्यवसायी बताउँछन् ।

Promise Education Consultancy