निर्मलाको बलात्कार र हत्याको छानविन गर्न सांसदहरुको माग

काठमाडौँ, ०७ भदौ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनाको छानविन गर्न सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधीसभाको बिहीबारको बैठकमा सांसद दिपकप्रकाश भट्टले घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् । कञ्चनपुर घटनाले गम्भीर रुप लिइरहेकाले गृहमन्त्रालय र प्रहरीका उच्च अधिकारीको सहभागितामा संसदीय समिति गठन गर्नुपर्ने भट्टको भनाई छ । प्रहरीले छानविन गरिरहेको र अभियुक्त सार्वजनिक गरेपछि सर्वसाधारणमा विश्वास नदेखिनु गम्भीर भएको बताउँदै सांसद भट्टले आन्दोलन जटिल मोडमा पुगेको संसदमा जानकारी गराएका छन् ।
त्यस्तै, सांसद मिनबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषि उम्काई सुस्त मनस्थितिका व्यक्तिलाई ल्याएर यिनै हुन् अभियुक्त भनेर जनतालाई ढांट्ने काम गरेको आरोप लगाए ।
त्यस्तै, नेकपाकी सांसद राधा ज्ञवालीले संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड सम्बन्धी व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । ज्ञवालीले संविधानले मृत्युदण्डको व्यवस्था नगरेको भन्दै राजनीतिक सहमतिमा संविधानलाई संशोधन गरेर, नाबालिका र छोरी बलात्कार गर्नेलाई मृत्युदण्डको व्यबस्था गर्नको लागि सरकार समक्ष माग गरिन् ।
बैठकमा सांसद मिना पाण्डेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Promise Education Consultancy