माग अनुसारको रसायनिक मल उपलब्ध नहुँदा किसानहरु सास्ती झेल्न बाध्य

 

श्यामसुन्दर यादव

सप्तरी, ६ भदौ । धान खेतीका लागि माग अनुसारको रसायनिक मल उपलब्ध नहुँदा सप्तरी जिल्लाका किसानहरु सास्ती झेल्न बाध्य भएका छन् ।

कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्था मार्फत सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएको रसायनिक मल सहकारी संस्थाहरुले मनपरी चर्को मूल्यमा विक्री गर्ने गरेको किसानहरुको गुनासो छ ।

 

यस वर्ष समयमा वर्षा नहुँदा किसानलाई रोपाइमा समस्या झेल्नुपरेको पीडा छ नै । मोटर, पम्पींगसेट इत्यादीको सहारामा धान रोपाइँ गर्न र रोपिएका धान खेतमा आवश्यक पर्ने मलखाद लिन चारपाँच दिनसम्म सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ ।

धान रोपाइँको समयमा डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मलको आवश्यकता रहे पनि माग अनुसार आयात नहुँदा अभाव भएको जिल्ला सहकारी संघको भनाई छ ।

यता, सुरुमा डिएपी मल केही रुपमा अभाव रहे पनि आफुहरुले विस्तारै आपूर्ति सहज बनाउँदै लगेको कृषि सामग्री केन्द्र लिमिटेड राजविराजको दावी छ ।

किसानहरुको समस्याप्रति सम्वन्धित निकायको अविलम्ब ध्यान केन्द्रित हुनु आवश्यक छ ।