चितवनमा ‘यौनजन्य हिंसाविरुद्धको साझा अभियान’ सुरू (फाटोफिचर)

चितवन, भदौ ६ । यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न संघसंस्थाको पहलमा ‘यौनजन्य हिंसाविरुद्धको साझा अभियान’ सुरू गरिएको छ।

यौनजन्य हिंसाका घटनाविरुद्ध समुदायलाई जागरुक बनाउन उक्त अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिइन्। देशका विभिन्न जिल्लामा बलात्कारका जघन्य अपराधहरू बढेकाले समाजलाई सचेत बनाउँदै नीति निर्माण तहसम्मै घच्घच्याउन सामुहिक अभियान सरू गरिएको खरेलको भनाई छ।

जिल्लाका विभिन्न २५ भन्दाबढी संघसंस्थाको सक्रियतामा अभियानको थालनी गरिएको बुधबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिइएको थियो।

अभियानअन्तर्गत गाउँगाउँमा पुगेर सचेत बनाउने, घटनाको तथ्यांक संकलन गरिने, यौनजन्य हिंसा प्रभावितहरूको अवस्था अध्ययन गरी लक्षित समुदायलाई नै जागरुक गराउने, न्यायमा पहुँच पुर्‍याउने, कानुन कार्यान्वयनमा दबाव दिने, पिडकलाई कारबाहीको दायरामा लैजाने लगायतका कार्यक्रम गरिने छ। यस्ता घटनाको प्रतिकार गर्न सक्ने समुदाय निर्माण गर्नेसमेत अभियानको उद्देश्य रहेको कार्यक्रककी सह–संयोजक संगीता भट्टराईले बताइन्।

घटना रोक्ने उपाय खोजीका लागि जनप्रतिनिधिहरूसँग बसेर  छलफल गर्ने र विद्यालयमा पुगेरसमेत विद्यार्थी सचेतना कार्यक्रम चलाउने भट्टराईको भनाइ छ।

हिंसामा परेकाहरूलाई आवश्यक सहयोग र कानुनी सहायताका लागि ‘हेल्प डेस्क’ नै स्थापना गरी न्यायालयसम्म पुर्‍याउने भट्टराईले उल्लेख गरिन्। महिलाहरू बलात्कार हुनुमा मदिरा, लागुऔषध र सामाजिक सञ्चाल मुख्य कारण रहेको भन्दै अभियन्ताहरूले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए। चितवन प्रहरीकाअनुसार जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ११ वटा बलात्कारका घटना भएको छन्।

गएको वर्ष प्रहरीमा जवरजस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएको छ। त्यसको अघिल्लो वर्ष ५५ वटा मुद्दा दर्ता भएका थिए। तथ्यांकले पनि बलात्कारका घटना बढ्दो रहेको भन्दै यसलाई रोक्न र समाजलाई जागरुक बनाउने नै अभियानको मुख्य उद्देश्य हो भन्छिन् संयोजक खरेल।

उनका अनुसार यही भदौ ८ गते चितवमा बृहत र्‍याली र प्रदर्शनसहित भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र भदौ ९ गते विद्यार्थीहरूको र्‍याली निकालिने कार्यक्रम तय भएको छ।