दुलर्भ एक दुर्लभ एक सिङ्गे बच्चासहितका गैंडा मध्यवर्ती सरे (फाटोफिचर)

 

विप्लव काफ्ले

चितवन, ५ भदौ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा गैंडाको चहलपहल बढ्न थालेको छ । सुरक्षितरुपमा बच्चा हुर्काउन खुला ठाउँ खोज्दै गैंडा मध्यवर्ती सामुदायिक वनमा सर्न थालेका छन् ।

भरतपुर–२७ स्थित करिब ७६ हेक्टरमा फैलिएको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा सफारी गर्ने पर्यटकले नजिकैबाट गैंडाको अवलोकन गर्न पाउँछन् । “एकै दिन १० बच्चासहितको माउ गैंडा भेटियो”, हात्तीमा पर्यटक घुमाउँदै आएका जितपुरका बुद्धिराम महतो भन्छन्, “एउटै पोखरीमा अहाल बसेको अवस्थामा भेटिन्छन् । सायद यसपालि गैंडाको संख्या बढेको छ ।”

२० वर्षसम्म माहुतेका रुपमा कार्यरत महतोले वर्षायाममा मध्यवर्ती क्षेत्रमा जनावरको चहलपहल बढ्ने गरेको बताए । “हात्ती सफारी करिब २ घण्टाको हुन्छ, गैंडा नभेटिएको दिनै हुँदैन”, उनी भन्छन्, “नजिकैबाट जंगली जनावर हेर्न पाउँदा पर्यटक निकै रमाउँछन् ।” सोही वनका अध्यक्ष डिबी आले मगरले ‘अफसिजन’ भएपनि सहजै जंगली जनावर हेर्न पाइने भन्दै पर्यटक आउने गरेको बताउँछन् ।

“साउनमा १ सय जनाले सामुदायिक वन घुमे”, उनले भने, “सामुदायिक वन बासस्थानका लागि उपयुक्त हुन थालेपछि जनावरको चहलपहल पनि बढेको छ ।” यो सामुदायिक वनमा २ वटा कृत्रिम ताल छन् । जनावर, चराको ‘मुमेन्ट’ हेर्न र दृश्यावलोकन गर्न ३ तले पक्की मचान बनाइएको छ ।

सोही मचान नजिकैको तालमा गैंडा अहाल बस्ने गरेका दृश्यले पर्यटक रमाउने गर्छन् । सारङ वाइल्ड लाइफका सञ्चालक सुवोध प्रधान बच्चासहितका गैंडा प्रायः देखिने गरेको बताउँछन् । “जहिल्यै गैंडा भेटिन्छन्, गैंडा नदेखिने दिनै छैनन्”, उनी भन्छन्, “नदीजन्य वस्तु निकासीमा कडाइ गर्ने हो भने मध्यवर्ती क्षेत्र पर्यटकका लागि सुनौलो ठाउँ बन्छ । प्रशस्तै जनावर हेर्न पाइन्छ ।”

राप्ती हरियाली तथा बेथरी सामुदायिक वनका अध्यक्ष चन्द्रलाल काफ्लेले पश्चिम चितवनको पर्यटन आशलाग्दो बनेको बताउँछन् । “पश्चिम बेल्टका मध्यवर्तीमा प्रशस्तै जनावर देखिन्छन््”, उनले भने, “अफसिजनमा पनि पर्यटक आएका छन् ।” यो वनमा २ वटा मचान बनाइएको छ । पर्यटक सामुदायिक वन प्रवेश गर्दा जिप वा हात्तीसफारी गर्दा आन्तरिकलाई १ सय, विदेशीलाई २ सय रुपैयाँ शूल्क लाग्छ ।

‘जंगल–वाक’ गर्दा आन्तरिकलाई १० र बाह्यलाई ५० रुपैयाँ शुल्क लिइन्छ । यस्तै जिप वा हात्ती सफारी प्याकेजका लागि १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म तिर्नुपर्छ । मध्यवर्ती क्षेत्रमा बँदेल, जरायो, मृग, बाघ, गोही प्रशस्तै भेटिन्छन् । संरक्षणमा स्थानीय समुदायको लगाव बढेपछि जनावरका लागि उचित बासस्थान बन्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बाघबाट बच्चालाई सुरक्षित राख्न मध्यवर्ती वनमा गैंडा सरेको बताउँछन् । “बाक्लो झाडी पनि छ, बाघबाट बढी थ्रेट हुन्छ”, उनले भने, “मध्यवर्ती वनमा खुला ठाउँ धेरै छन्, बच्चा हुर्काउन सजिलो पर्छ, सुरक्षित हुने देखेर सरेका हुन् ।”

भाले गैंडा र बाघबाट जोगाउन गैंडा मध्यवर्ती वनमा सरेको हुन सक्ने बताउँछन् । “साढे २ वर्षसम्म माउले बच्चा छोड्दैन, सँगै लिएर हिड्छ”, उनले भने, “त्यसैले एकैपटक धेरै देखिएका हुन् । गणना नभई संख्या बढ्यो भन्न मिल्दैन ।” उनले नेपाली सेना र निकुञ्ज सेनाले सीमा क्षेत्रमा कडा निगरानी गरेको बताउँछन् ।

मध्यवर्ती वन, उपभोक्ता समिति, चोरी शिकार नियन्त्रण युवा जागरण उपसमितिलाई निगरानीका लागि सक्रिय बनाइएको छ । सन् २०१५ मा भएको गैंडा गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ एक सिंगे गैंडा छन् । चैत्र देखि गैंडा गणना गर्ने तयारी छ । निकुञ्जले गत वर्ष खाग तस्करी गरेको आरोपमा ७ जना पक्राउ गरेको थियो ।