चितवनमा थ्रीएस अपरेशन प्रभावकारी बन्दै। लागु औषध मुद्दामा तीन सय तीन जना पक्राउ

आनन्द पोखरेल
चितवन, ५ भदौँ । चितवनमा अवैध लागु औषध कारोबारमा संलग्न रहेका मध्ये पछिल्लो तीन वर्षमा तीन सय तीन जनालाई प्रहरीले पक्राउ गरेको आजको नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा बढी एक सय २० जना मानिस पक्राउ परेका थिए । आर्थिक वर्ष २०७२/०७३ मा प्रहरीले लागु औषध सम्बन्धी ७१ वटा मुद्दा दर्ता गराएकोमा चार जना मानिस अझै फरार रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । त्यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा ९३ जना र आर्थिक वर्ष २०७४/०७५ मा ९० जना मानिसलाई लागु औषध मुद्दा अन्तर्गत प्रहरीले पक्राउ गरेको आचार्यले जानकारी दिए ।
आर्थिक वर्ष २०७३/०७४ लागु औषध सम्बन्धी ५२ वटा मुद्दामा एक सय नौ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा परेको थियो । मुद्दा परेका मध्ये प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा ९३ जनालाई पक्राउ गर्न सफल भएको थियो भने अझै १६ जना फरारको सूचिमा रहेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा प्रहरीले ठूलो परिमाणमा लागु पदार्थ सहित कारोबारी समात्न सफल भएको थियो ।
त्यसैगरी, चितवन प्रहरीले आर्थिक वर्ष २०७४/०७५ मा चितवन जिल्ला अदालतमा ६२ वटा लागु औषध सम्बन्धी मुद्दा चलाएको थियो । प्रहरीले ६२ वटा मुद्दामा ९६ जना विरुद्ध उजुरी दिएको भएपनि ९० जना मात्रै पक्राउ परेको प्रहरी नायब उपरीक्षक आचार्यले बताए । आर्थिक वर्ष २०७४/०७५ मा मुद्दा दायर गरिएका मध्ये ६ जना अभियुक्त फरार रहेका छन् ।
पछिल्लो तीन वटा आर्थिक वर्षमा प्रहरीले लागु औषध सम्बन्धी एक सय ८५ वटा मुद्दामा तीन सय २९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । सबै मुद्दाको फैसला हुँदा प्रहरीले तीन सय तीन जना अभियुक्तलाई मात्रै पक्राउ गर्न सफल भएको छ भने २६ जना अभियुक्त अझै फरार रहेका आचार्यले बताए । फरार अभियुक्तहरुको खोजी कार्य तीव्र पारिएको आचार्यको भनाइ छ ।
चितवन प्रहरीले गरेको विभिन्न सुरक्षा चेकजाँचका क्रममा पक्राउ परेका व्यक्तिहरुबाट ठूलो मात्रामा लागु औषध तथा सवारी साधन समेत बरामद गरिएको थियो । प्रहरीले आर्थिक वर्ष २०७२÷०७३ मा एक सय १० किलो गाजा सहित १४ लिटर कोरेक्स तथा अन्य लागु पदार्थहरु बरामद गरेको थियो । यस अवधिमा डाइजेपाम एक हजार एक सय ४० एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय १७ एम्पुल, फेनारगन एक हजार एक सय ४० एम्पुल, नाइट्राजेपाम दुई हजार १० ट्याब्लेट, क्लोनाजेपाम सात सय ७० ट्याब्लेट, खैरो हिरोइन सात ग्रामसहित अन्य लागु औषधहरु प्रहरीले बरामद गरेको थियो ।
त्यस्तै, चितवन प्रहरीले आर्थिक वर्ष २०७३/०७४ ठूलो परिमाणमा लागु औषध सहित विभिन्न भारतीय तथा नेपाली गाडीहरु समेत बरामद गरेको थियो । प्रहरीले यस अवधिमा पाँच सय ७३ किलो चरेस, २६ किलो गाजा, ८४ ग्राम खैरो हिरोइन, डाइजेपाम एक हजार एक सय ७५ एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय ५० एम्पुल, फेनारगन एक हजार एक सय ३७ एम्पुल, नाइट्राजेपाम चार सय २३ ट्याब्लेटसहित अन्य लागु औषध समेत बरामद गरेको थियो । लागु औषध ओसारपसारमा संलग्न भएको भन्दै प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा दुई वटा ट्रक, दुई वटा भारतीय नम्बर प्लेटको टाटा सुमो र तीन वटा मोटरसाइकल समेत बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले आर्थिक वर्ष २०७४/०७५ मा दुई सय ७२ किलो गाजा सहित अन्य लागु औषध र सवारी साधन समेत बरामद गरेको छ । प्रहरीले आर्थिक वर्ष २०७४/०७५ मा खैरो हिरोइन ४५ ग्राम, नाइट्राजेपाम दुई हजार नौ सय ८४ ट्याब्लेट, व्युप्रिनोर्फिन नौ सय चार एम्पुल, फेनारगन नौ सय २३ एम्पुल, डाइजेपाम आठ सय ९९ एम्पुल, फेन्डिसिल आठ सय एमएल तथा अर्नेक्स तीन सय एमएल बरामद गरेको थियो । पक्राउ परेका मानिससँगै उनीहरुले लागु औषध ओसारपसार गर्न प्रयोग गरेका दुई वटा मोटरसाइकल, एउटा भारतीय नम्बर प्लेटको महिन्द्र बोलेरो गाडी तथा दुई वटा अटो रिक्सा समेत प्रहरीले बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।
चितवनलाई लागु औषधमुक्त जिल्ला निर्माण गर्नको लागि प्रहरीले चितवनमा थ्रीएस अपरेशन समेत सञ्चालन गर्दै आइरहेको छ । प्रहरीले सञ्चालन गरेको थ्रीएस अपरेशन प्रभावकारी बन्दै गएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । अवैध लागु औषधको सेवन तथा बिक्री वितरणलाई रोक्न सकिएमा शान्त तथा समृद्ध चितवन निर्माण गर्न सकिने राठौरको भनाइ छ ।