भरतपुर महानगरले बनायो छात्रवृत्ति व्यवस्थापन कार्यविधि

चितवन, ४ भदौँ ।  भरतपुर महानगरपालिकाले पहिलोपटक विद्यालय छात्रवृत्ति व्यवस्थापनको कार्यविधि तयार पारेको छ । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले विद्यालय छात्रवृत्ति व्यवस्थापनको कार्यविधि पूरा भएको जनाएको छ ।
महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार छात्रवृत्ति व्यवस्थापनको कार्यविधि तयार पारेको बताए । उनका अनुसार सम्भवत् भदौ ७ गते बस्ने महानगरको बोर्ड बैठकले कार्यविधि पारित गर्नेछ ।
महानगरले छात्रवृत्ति व्यवस्थापनको कार्यविधि बनेसँगै गरिब तथा जेहेनदार, जनजाति, दलित, द्वन्द्वपीडित, अपाङ्गतालगायतले छात्रवृत्ति पाउने अवसर मिल्ने महानगर शैक्षिक प्रशासन शाखाले जनाएको छ ।
कार्यविधिमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ । छात्रवृत्ति व्यवस्थापनको कार्यविधि बनेसँगै प्रत्येक विद्यालयले विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्छ ।
नर्सरीदेखि नै कक्षामा पहिलो हुने विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ । कक्षामा दोस्रो हुनेले आधा छात्रवृत्ति पाउने व्यवस्था राखिएको छ । छात्रवृत्ति पाउनेमा ५० प्रतिशत छात्रा अनिवार्य हुनुपर्छ ।
यसैगरी ३७ प्रतिशत जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।

३६ प्रतिशत गरिब तथा विपन्न समुदायले छात्रवृत्ति पाउँछन् । कार्यविधिमा यसअघि नदिइएको मधेस आन्दोलनका घाइते पीडित परिवारलाई सन्तानलाई समेत २ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ । यसबाहेक जनआन्दोलनका घाइते, शहीद परिवार, जनजाति र दलितलाई समेत छात्रवृत्ति दिनुपर्ने कार्यविधिमा जनाइएको छ ।
कार्यविधिमा तोकिएको क्षेत्रमा विद्यार्थी संख्या नभए त्यो कोटा जेहन्दार विद्यार्थीमा समावेश गरिने उल्लेख छ ।
कक्षा १० सम्म विद्यालयले निवेदन माग गरी आवश्यकताअनुसार परीक्षा लिएर, विद्यार्थीका अवस्था मूल्यांकन गरी छात्रवृत्ति दिनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ ।
कक्षा ११ को हकमा विद्यालयले परीक्षा लिएर छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था छ । परीक्षा विद्यालयले नै लिनेछ । लिखित परीक्षाको भार ७० प्रतिशत र एसईईको जीपीएको भार ३० प्रतिशत हुनेछ । ११ मा जुन विद्यार्थीले छात्रवृत्ति पायो, १२ कक्षामा त्यसले स्वतः छात्रवृत्ति पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।
शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले छात्रवृत्तिमा विद्यार्थीको मनोपोली नहुने दावी गरे । ‘छात्रवृत्तिमा विद्यालयको मनलाग्दी हुँदैन, ६ जनाको छात्रवृत्ति वितरण समिति र ९ सदस्यीय छात्रवृत्ति व्यवस्थापन समिति निर्माण गरी छात्रवृत्ति वितरण गर्ने प्रावधान कार्यविधिमा छ’ दवाडीले भने ।
छात्रवृत्ति वितरण समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय निरीक्षक, स्रोत व्यक्ति, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष, वडा समितिका प्रतिनिधि र प्रधानाध्यापक रहन्छन् ।
छात्रवृत्ति व्यवस्थापन समितिमा महानगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, महानगर सामाजिक समितिका संयोजक, विव्यस अध्यक्ष, शैक्षिक प्रशासन महाशाखा प्रमुख, शिक्षाविद् र प्याब्सन प्रतिनिधि रहनेछन् ।
‘सबैको सहमतिअनुसार छात्रवृत्ति व्यवस्थापन गर्ने हुँदा विद्यालयको मनोमानी चल्दैन’ शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले जानकारी दिए ।

Promise Education Consultancy