घडियाल बचाउन राप्ती र नारायणी नदी आसपासका समुदायमा माछापालन योजना

चितवन, ४ भदौ । चितवनको राप्ती र नारायणी नदीमा अति संकटापन्न अवस्थामा पुगेको घडियाल गोही जोगाउन नदी आसपासका समुदायलाई माछापालनमा आकर्षित गराउन थालिएको छ।

नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रका विभिन्न ठाउँमा माछापालन कार्यक्रम सुरु भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओजिकल सोसाइटी अफ लण्डन र हिमालयन नेचरको सहकार्यमा उक्त कार्यक्रम थालिएको छ। घडियाल गोही गैंडाभन्दा पनि दुर्लभ हुँदै गएको छ। हजार वटाभन्दा बढी गोही नदीमा छाडिएपछि प्राकृतिक बासस्थानमा यसको संख्या कम छ।

निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत राप्ती नदी छेउका स्थानीय आदिवासी समुदायलाई सहभागी गराएर आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रशिक्षण समेत दिएको छ। प्रशिक्षणमा सहभागी खैरहनी नगरपालिका(१२ की लक्ष्मी दराईले तत्कालै यहाँको दराईबोटे तालमा माछापालन सुरु गर्न लागिएकाले प्रशिक्षण लिएको बताइन्। गरिब परिवारलाई माछापालनमा गरिएको सहयोग महत्वपूर्ण भएको भन्दै उनले माछापालनको सीप सिक्न पाएकोमा खुसी व्यक्त गरे। यस क्षेत्रका भैराम दराई, विकना चौधरीले पनि माछापालन र गोही जोगाउने उपायबारे जानकारी पाएको प्रतिक्रिया दिए।

गोहीको मुख्य आहारा माछा हो। नदीमा मानवीय चाप हुँदा माछा घटे भने गोही बचाउन समस्या हुन्छ। त्यसैले स्थानीयलाई वैकल्पिक आयआर्जनमा सहभागी गराएर गोही जोगाउन नियम कानुनका कुरा समेत सिकाएको कोषका सूचना अधिकारी सन्तोष भट्टराईले बताए। राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाएर स्थानीयलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन थालिएको हो।

चितवनको जगतपुरस्थित केरुङगा मध्यवर्ती क्षेत्रको दुई ठाउँ र नवलपुरको पिठ्यौली र देवचुलीको तीन ठाउँ गरी पाँच स्थानमा माछापोखरी निर्माण गरी स्थानीय विपन्न समुदायलाई सहभागी गराइएको छ। यस्तै पूर्वी चितवनको कुमरोजस्थित दराई बोटे तालमा दराइबोटे माछापालन समूह र सिर्जनशील माछापालन समूहले माछा पालन सुरु गर्दैछन्।

‘एउटै पोखरीमा तीन तहमा माछा पाल्न सकिन्छ, उनीहरु धेरैलाई थाहा छैन,ु राष्ट्रिय प्रकृति संरक्षण कोषका रेञ्जर ऋषि सुबेदीले भने, ुस्थानीय समुदायलाई सबै सीप सिकाएर माछापालनमा सरिक गराउँदैछौं।’ उनीहरुलाई निकुञ्जका ऐन, नियम सिकाउने र गोही संरक्षणका विषयहरु समेत जानकारी गराएर माछापालनमा आकर्षित गराएको सुवेदीले बताए।

यसरी माछापालनमा मत्स्य विकास केन्द्र भण्डारा चितवनले समेत सहयोग गरिरहेको छ। तीन वर्षे कार्यक्रमअन्तर्गत उनीहरुलाई हरेक पोखरीमा पाँच लाख रुपैयाँ सहयोग समेत दिइनेछ। विशेष गरी नदी छेउमा बस्ने स्थानीयहरु माछा मार्न नदीमा जान्छन्। सो क्रममा जाल अड्किएर गोही मर्ने र नदीमा माछा समेत घट्ने हुँदा वन्यजन्तु, चरा र जलचरलाई असर गर्ने भएकाले उक्त कार्यक्रम ल्याइएको हो।

पछिल्लो समयमा चितवन र नवलपरासीमा बोटे, माझी र मुसहर समुदायलाई सहभागी गराएर संरक्षण कार्य अघि बढाइएको छ। यहाँ उनीहरुलगायत चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका सदस्यहरु सम्मिलित ‘घडियाल गार्ड ग्रुप’ गठन गरी संरक्षण अभियान थालिएको छ।

Promise Education Consultancy