सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा, अान्दाेलन गर्नु राजनीतिक अपराध : मुख्यमन्त्री पोखरेल

नवलपरासी, भदौ ३  । प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई काम नै गर्न नमिल्ने गरी विभिन्न बहानामा आन्दोलन गर्नु राजनीतिक अपराध भएको बताएका छन्। न

नवलपरासीको सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा सभामा बोल्दै मुख्य मन्त्री पोखरेलले विकास र समृद्धिको क्षेत्रमा पक्ष र प्रतिपक्ष हुन नहुने बताएका हुन्।

सरकारले ५ महिनामा नै केही गरेन असफल भयो भनेर मूल्यांकन गर्ने समय आइनसकेको मुख्यमन्त्री पोखरेलले बताए। पोखरेलले बजेट अझै सम्बन्धित क्षेत्रमा पुगिनसकेको अवस्थामा सफल र असफल भनी विश्लेषण गर्न नमिल्ने जिकिर गरे।

प्रतिपक्षलाई सत्ता पक्षसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गर्दै कहिले करका सन्दर्भमा जे जति चर्चा परिचर्चा भइरहेको छ। त्यो वास्तविक नरहेको भन्दै प्रदेश-५ ले विगतको तुलनामा कुनै पनि शीर्षकमा कर बृद्धि नगरेको र कतिपय शीर्षकमा लिइदै आएको कर कटौती गरिएको प्रष्ट पारे। प्रदेश-५ को समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै मुख्य मन्त्री पोखरेलले पर्यटनको क्षेत्रमा आफूहरूले विशेष जोड दिएको बताए।

उनले कोही नागरिकले आफ्नो जग्गा जमिन नभएको तर जमिन भाडामा लिएर खेती गर्न चाहेमा भाडा बापतको रकम प्रदेश सरकारले नै उपलब्ध गराउने बताए। नेता पोखरेलले सुनवल नगरपालिका राज्यको पुनर्संरचना पछि नेपालको पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएकोमा अन्य स्थानीय तहले पनि सुनवलको सिको गर्नुपर्नेमा जोड दिए।

घोषणा हुनु मात्र ठूलो कुरा नभई यसका सूचकलाई टिकाई राख्न प्रदेश सरकार हरबखत लागि पर्ने बताउँदै बालमैत्री घोषणामा मात्र नभई व्यवहारमै देखिनुपर्ने पोखरेलको जोड थियो। बालमैत्री घोषणा कार्यक्रममा बोल्दै प्रदेश -५ का भौतिक योजना मन्त्री बैजनाथ चौधरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएकोमा खुसी लागेको भन्दै आफूको कार्यकालमै प्रदेश-५ लाई बालमैत्री प्रदेश बनाउनका लागि आवश्यक पहलकदमी चाल्ले बताएका छन्। कार्यक्रममा बोल्दै संघीय सांसद तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले हचुवाको भरमा लगाइने करले नागरिकलाई सास्ती भएको भन्दै त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताए।

उनले सुनवल नगरपालिका नेपालमै पहिलो पटक बालमैत्री नगरपालिका घोषणा भएकोमा बालमैत्री अभियानमा लागी सम्पूर्णमा अनुराेध गरेका थिए। कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा भरतले राष्ट्रिय स्तरका ३९ र स्थानीय तहले निर्धारण गरेका ३ गरी कूल ४२ वटा सूचक पूरा गरेर नगरलाई बालमैत्री नगरपालिका बनाउन सफल भएको बताए।

नगरको हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिताका लागि आफू संवेदनशील भएको भन्दै आगामी दिनमा दीगोपनाका लागि थप चुनौति रहेको समेत थापाले बताए। उनले बालमैत्री नगरपालिका बनाउन जसरी खट्नु भयो त्यसरी नै आगामी दिनमा पनि नगरपालिकालाई सहयोग गर्न नागरिक,संघसंस्था, राजनीतिक दल तथा सरोकारवाला सबैमा आग्रह गरेका छन्।

सुनवल नगरपालिका मुलुक संघीयतामा जानुपूर्व २०७२ जेठ ३२ गते नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो। मुलुक संघीयतामा गएपश्चात सुनवल नगरपालिकामा गाभिएको साविक रामनगर गाविस अहिलेको वडानम्बर ११, १२ र १३ लाई समेत बालमैत्री बनाई आज एक समारोहकाबीच प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरेका हुन्।

Promise Education Consultancy