चितवन राष्ट्रिय निकुञ्जलाई सफलता : अर्नाको वंश विस्तार

चितवन, ३ भदौ ।   अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई सफलता मिलेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा जन्माएसँग वंश विस्तारमा सफलता मिलेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का बताउनुहुन्छ ।

विसं २०७३ मा कोशीबाट ल्याएर चितवन निकुञ्जको पूर्वी सेक्टरस्थित पुरानो पदमपुरको खुलाखोरमा राखिएको अर्नाले साउनको ३१ गते पाडी जन्माएको फेला परेको थियो । “अर्काे ठाउँबाट ल्याएको अर्नाले बच्चा जन्माउनु वंश विस्तारका लागि ठूलो सफलता हो,” खड्काले भन्नुभयो, “अझै अर्नाको सङ्ख्या बढाउनुपर्छ, हामी सक्दो प्रयास गरिरहेका छौँ ।”

चितवन निकुञ्जमा अर्नाले बच्चा जन्माएको पहिलो हो । पाडी स्वस्थ रहेको र आमाको दूध खाइरहेको अनुगमनमा गएका निकुञ्जका कर्मचारी विजय चौधरीदले बताउनुभयो । निकुञ्ज स्थापना हुँदा चितवनमा अर्ना थिएन । त्यसैले प्रजातिको संरक्षणका लागि कोशीबाट अर्ना र शुल्लाफाँटाबाट बाह्रसिङ्गे ल्याइएको हो । चितवनबाट बर्दिया शुल्लाफाँटालगायत क्षेत्रमा गैंडा पठाउने गरिएको छ ।

प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण गर्ने गरिएको गरिएको निकुञ्जले जनाएको छ । यो सँगै निकुञ्जमा अर्नाको सङ्ख्या १० पुगेको चितवन निकुञ्जका प्रमुख बेदकुमार ढकालले बताउनुभयो । यहाँ कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथी गरी तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । रोगव्याधी र बाघको आक्रमणलगायत कारणले छ अर्ना मरिसकेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकारी सन्तोष भट्टराई पशु चिकित्सकसहितको टोलीले अहिले पनि अर्नाको नियमित अनुगमन, रेखदेख र खुलाखोरको व्यवस्थापन गर्दै आइरहेको बताउनुहुन्छ । संरक्षणकर्मीका लागि ठूलो खुशीको कुरा भएको उहाँले बताउनुभयो । निकुञ्ज विभागले अझै खुला खोर बढाएर अर्ना थप्ने तयारी गरेको छ । “कम्तिमा २५÷३० अर्ना नभएसम्म बाघले मार्न सक्छ, झुण्डमा भए बाघले छिट्टै आक्रमण गर्न सक्दैन, सङ्ख्या नपुग्दासम्म खोरमा नै राखिन्छ,” खड्काले बताउनुभयो । संरक्षणमा चुनौती भने प्रशस्तै छ । बाढी तथा रोगव्याधी भयो भने संरक्षणमा समस्या पर्छ । गएको वर्षको बाढीले यहाँका सबै अर्नामा रोग देखिएको थियो । पछि औषधोपचार गरी दानापानी खुवाएर अर्ना बचाइएको थियो ।

Promise Education Consultancy