अनाथ बालबालिका संरक्षणको लागि संस्था स्थापना

चितवन, ०२ भदौ । विदेशमा अलपत्र परेका नेपाली बालबालिका तथा अनाथ र असहाय बालबालिकाको उद्धार गरेर उनीहरुलाई उचित शिक्षा दिक्षा दिने उद्देश्यले चितवनमा संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज सञ्चालनमा आएको छ ।
राजधानी काठमाडौँमा यसै वर्षदेखि सेवा सुरु गरेको संस्थाले चितवन र आसपासका जिल्लामा रहेका अनाथ बालबालिकाको हकहितमा काम गर्ने लक्ष्यसहित चितवनमा सेवा बिस्तार गरेको जनाएको छ । शनिबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष ठाकुर रेग्मीले विशेष गरि गरिबीका कारण विद्यालय बाहिर रहेका बालकालिकालाई शिक्षादीक्षासहित संरक्षण दिने उद्देश्यले संस्थाको स्थापना भएको जानकारी दिए । समाजले काठमाडौँमा २१ जना बालबालिकालाई संरक्षण दिँदै आइरहेको उनले बताए ।
अभिभावक नभएका र भएर पनि गरिबीले गर्दा पढ्न नपाएका बालबालिकालाई संस्थाले रेखदेख गर्ने उनको भनाइ छ । केन्द्रीय कार्यालयको सहयोगमा चितवनबाट पनि त्यस्ता बालबालिकाको खोजी गरि अभियान नै सञ्चालन गरिएको अध्यक्ष रेग्मीले बताए ।