थियटर निर्माण गर्न जुटे चितवनका युवाहरु

चितवन, ०२ भदौ । चितवनमा थियटर निर्माणको लागि यहाँका युवाहरुले स्थापना गरेको कर्मी नाट्य समूहले नाटक मञ्चनको तयारी थालेको छ ।
साउन दोस्रो हप्ताबाट नाटकको लागि कार्यशाला सञ्चालन गरिने शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । थियटर निर्माण गर्ने मात्रै नभई नयाँ कलाकार उत्पादनको लागि पनि समूहले नाटकलाई निरन्तरता दिने प्रयास गरिएको समूहका अध्यक्ष भीम राईले जानकारी दिए । नेपाली रंगमञ्चमार्फत चितवनको परिचय थप्नको लागि पनि नाटकमार्फत प्रस्तुत हुन खोजिएको राईको भनाइ छ ।
करिब एक महिनाको कार्यशालापछि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन गर्ने तयारी भइरहेको समूहका सचिव प्रदीप ढुंगानाले बताए । यसअघि समूहले गतवर्ष कथाकार रामलाल जोशीको कथा संग्रह ‘ऐना’भित्रको एउटा कथा ‘श्रीमान् वीरबहादुर’लाई नाटकमा रूपान्तरण गरेर मञ्चन गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै फेरि अर्को नाटकको लागि तयारीमा जुटेको समूहले जनाएको छ ।
नाट्य क्षेत्रमा काम गर्न चाहने जोकसैले चितवनबाटै प्रशिक्षण लिन पाउने हुँदा नयाँ पुस्ताको लागि अवसर सावित हुने समूहका सल्लाहकार मुकुन्द खलपात्रले बताए ।

Promise Education Consultancy