‘फोन फुटाएको’ निहुँमा पति–पत्नीबीच डिभोर्स !

 

एजेन्सी : पति–पत्नीबीचको सम्बन्ध लरतर छुट्टिँदैन । तर, हाम्रो छिमेकी देश भारतमा भने स–साना कुरालाई लिएर घरबार टुटेका थुप्रै खबर छन् । आज त्यस्तै एक खबर छ ।

भारतको भोपालमा एक दम्पतीबीच मोबाइल फोन फुटाएको निहुँमा डिभोर्स हुने भएको छ । खबरअनुसार ती दम्पती दुवै फोन खेलाउनमा माहिर रैछन् । जतिखेर पनि फोन चलाइराख्ने । सोहीक्रममा एकदिन दम्पतीबीच यस्तो घटना भयो, जसका कारण उनीहरूको घरबार भत्किने भयो ।

एक दिन पत्नी मोबाइलमा कोही व्यक्तिसँग कुरा गरिरहेको पतिले सुने । र, उनले तुरुन्तै फोन खोसेर फुटाइदिए । उनले आफ्नी पत्नीमाथि हातसमेत लगाए ।

पत्नी पनि के कम ! सोझै आफ्नै पतिविरुद्ध उजुरी गर्न प्रहरीकहाँ पुगिन्, डिभोर्सको निवेदन लिएर । तर, प्रहरीले डिभोर्सको निवदेन दर्ता गराउन मोनन् । बरु, एउटा आइडिया लगाए ।

ती प्रहरी अधिकारीले पति–पत्नीलाई आफूकहाँ लागतार ३ दिन धाउने गरी तारिख तोकिदिए । प्रहरीले उनीहरूलाई ३ दिनसम्म तारिख धाउने भए मात्र डिभोर्स गर्ने आश्वासन दियो ।

नभन्दै ती दम्पतीले पनि पुलिसले भनेजस्तै गरे । उनीहरू दिनै प्रहरीकहाँ धाउँथे । र, इजलासबाहिर सँगै बस्थे । त्यसबेला उनीहरूसँग कुनै मोबाइल फोन हुँदैनथ्यो ।

उनीहरूसँग हातमा फोन नभएपछि दिनभर पर्खेर बस्दा उनीहरूले आपसमा कुराकानी गर्न थाले । कुराकानीकै क्रममा उनीहरू अलि निजक बने, खुलेर बोल्न थाले । एकअर्काबीच रहेको आशंका पनि हट्यो ।

दुवैले मन माझामाझ गरे अनि आपसमा डिभोर्स नगर्ने समझदारी गरे । अन्ततः उनीहरूले तेस्रो दिन प्रहरीबाट डिभोर्सका लागि दिएको निवेदन नै फिर्ता लिए ।

यसरी आवेशमा आएर घरबार टुटाउन लागेका पति–पत्नीको सम्बन्धलाई कायमै राख्न ती प्रहरीले लगाएको जुक्तिले ठूलै काम गर्यो । अन्तिम दिन ती दम्पतीले प्रहरीलाई धन्यवाद दिँदै घर हिँडे ।

Promise Education Consultancy