गोरखा जिल्ला अस्पतालको फार्मेसीमा ज्वरोको समेत औषधि पाइन्न !

नरेन्द्र ढकाल

गोरखा, भदौ २ गते । जिल्ला अस्पतालको फार्मेसीमा आवश्यक औषधि नभएको बिरामीले गुनासो गरेका छन् । अस्पतालले आफैँ फार्मेसी सेवा सञ्चालन गरे पनि निःशुल्क औषधिसमेत बाहिरबाट किन्नुपरेको बिरामीका आफन्तको भनाइ छ ।
म तीन महिनादेखि बुबाको चेकजाँचका लागि निरन्तर आइरहेको छु, अस्पताल परिसरमा भेटिएका हर्क रानाले भन्नुभयो, निशुल्क औषधि पनि बाहिर किनेर लैजानु परेको छ, भित्र पाइँदैन । ८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले दाबी गरे पनि एमोक्ससिलिन जस्ता सर्वसुलभ औषधि त्यहाँको फार्मेसीमा छैन ।
देशभरका स्वास्थ्य संस्थामा निःशुल्क भनिएको उक्त औषधि जिल्ला अस्पताल गोरखामा विगत २ महिनायता नभएको अस्पताल स्रोतले बताएको छ । सामान्य समस्या ज्वरो, रुघाखोकीका बिरामीले पनि अस्पतालबाट औषधि पाएका छैनन् । फार्मेसीका स्वास्थ्यकर्मीले औषधि छैन भन्दै अनेक आलटाल गरेर बिरामीलाई रित्तै पठाउने गरेको अस्पताल परिसरमा भेटिएका अर्का सेवाग्राही सुमन गुरुङले बताउनुभयो । सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ, उहाँले भन्नुभयो, फार्मेसीमा औषधि ल्याए त मेडिकलले के व्यापार गरुन् र ?, अहिले अस्पतालको फार्मेसीमा निःशुल्क भनिएका आधा पनि औषधि छैनन् । मेडिकलसँगको मिलेमतोमा अस्पतालले औषधि खरिदमा चासो नदिएको कतिपयको आरोप छ ।medicine 1
जिल्ला अस्पताल गोरखाले गत भदौबाट स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ तर बीमा गरेका सर्वसाधारणले पनि सुविधा पाएका छैनन् । प्रतिपरिवार २५ सय रुपियाँ तिरेर बीमा गरेका उनीहरू अस्पतालमा सेवा लिन आउँदा औषधि किन्न भने निजी मेडिकल नै धाउन बाध्य छन् ।
स्वास्थ्य सेवा पाइन्छ भनेर बीमा गरियो, यो त नाम मात्रको रहेछ, अस्पताल परिसरमा भेटिएका अर्का सेवाग्राही विष्णु अर्यालले भन्नुभयो, बीमाको रकम टिकटको पैसा तिर्ने बाहेक अरू केही काम लागेको छैन । गोरखा जिल्लाका २३ हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेको तथ्याङ्क छ । उनीहरूमध्ये एक तिहाई पनि बीमाको रकम सही सदुपयोग नगरेको बताएका छन् । जिल्ला अस्पतालले पनि सजिलै आफ्नो गल्ती स्वीकार गरेको छ । बिरामीको गुनासो सही हो, जिल्ला अस्पतालले बीमामार्फत करिब÷करिब २५ सय औषधि उपलब्ध गराउनुपर्ने हो, अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो, हामीले अहिलेसम्म २०० औषधि पनि उपलब्ध गराउन सकेका छैनौँ ।
उहाँले स्टक आउट हुनेबित्तिकै माथिल्लो निकायमा औषधि माग्ने गरिए पनि कहिलेकाहीँ ढिला हुने गरेको बताउनुभयो । ढकालले भन्नुभयो, अहिले पनि क्षेत्रीय स्टोरमा माग गइसकेको छ, साउन महिनामा त्यहाँ पनि औषधि अभाव हुन्छ, आशा गरौँ अब छिट्टै आउला ।
अस्पतालको स्टोर शाखाले औषधि सकिएको व्यहोरासहितको इमेल क्षेत्रीय औषधि स्टोरमा पठाए पनि अहिलेसम्म जवाफ नआएको बताएको छ । केही दिनभित्र कम्तीमा पाँच सय औषधि उपलब्ध गराउने गरी तयारी भइरहेको छ, उहाँले भन्नुभयोे, यसअघि हाम्रो कमजोरी भएकै हो ।
फार्मेसीले समयमै काम गर्न नसक्नुमा आवश्यक पदपूर्ति नहुनु पनि कारण रहेको ढकालको भनाइ छ । ५० शय्यामा स्तरोउन्नति भएको लामो समय भइसक्दा समेत अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुनसकेको छैन ।