प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल एकैसाथ जनकपुर

 

चितवन, भदौ २ ।   प्रधानमन्त्री केपी शर्मा ओली शनिबार जनकपुर प्रस्थान गर्दै हुनुहुन्छ । प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्न उहाँ जनकपुर जान लाग्नुभएको हो । प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पनि जनकपुर जानुहुने भएको छ ।

अध्यक्ष दाहाल शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन धनुषाको बरमझिया पुग्नुहुनेछ । प्रधानमन्त्री ओली भने प्रदेशसभाको कार्यक्रम सकेर मात्रै स्मृतिसभामा सहभागी हुने जनाइएको छ ।

प्रदेशसभामा सम्बोधन हुने भएपछि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, आपूर्ति मन्त्री मातृका यादवसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरू जनपुर प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको क्रममा प्रदेश २ को विकासका लागि कार्यक्रम घोषणा गर्ने र हालसम्मका प्रगतिको बिषयमा जानकारी लिने उहाँका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

Promise Education Consultancy