चितवनका होटल व्यवसायीलाई होटल व्यवस्थापन सम्बन्धी १० दिने तालिम

चितवन, ०१ भदौ । चितवनका होटल व्यावसयाीहरुलाई साना तथा मझौला होटल एवम् लज व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टसँगको सहकार्य तथा होटल व्यवसायी संघ चितवनको आयोजनामा शुक्रबारदेखि होटल व्यवस्थापन सम्बन्धी तालिम दिन सुरु गरिएको हो । भदौ १० गतेसम्म सञ्चालन हुने तालिममा होटल व्यवसायीहरुलाई होटलको राम्रोसँग व्यवस्थापनको बारेमा प्रशिक्षण दिइने छ । चितवन पर्यटकीय क्षेत्र बन्दै गएकोले यहाँ आउने पर्यटकलाई गुणस्तरी खाना तथा बस्ने सुविधा उपलब्ध गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । होटल व्यवसायीहरु सहभागी प्रशिक्षण कार्यक्रममा होटलको रिसेप्सनदेखि लज व्यवस्थापनसम्मको विषयको बारेमा जानकारी गराइने नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका प्रमुख प्रशिक्षक मनराजा खत्रीले बताए ।
चितवनमा राजमार्ग छेउमा बढी होटलहरु सञ्चालनमा आएकाले सबैको व्यवस्थापन गर्दै गुणस्तरीय सेवा प्रदान गर्न सकियोस् भनेर तालिमको आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष कमल शर्मा गौतमले बताए । होटलमा आउने अतिथिहरुलाई राम्रोसँग स्वागत सत्कार गर्न सकियो भने चितवनको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने भएकाले होटल व्यवसायीहरुलाई प्रशिक्षण दिन लागिएको हो ।

तालिम उद्घाटनका क्रममा होटल व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष जीवलाल सापकोटा, पूर्व अध्यक्ष ईमान्दु बरा, भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष मानबहादुर राना, वरिष्ठ उपाध्यक्ष शर्मिला न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।