‘मितिनी’ र ‘सोल्टी’ हस्तान्तरण कार्यक्रम स्थगित

 

काठमाडौँ, ३१ साउन  । चीनबाट कार्गाे विमान आउन नसकेपछि सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी एक सिङ्गे गैँडा हस्तान्तरणको कार्यक्रम स्थगित भएको छ ।

चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान आउने कार्गाे विमान आज नेपाल आउन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । गैँडा हस्तान्तरण कार्यक्रम शुक्रबार साँझका लागि तय भएको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौँ ल्याइएको हो । दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ ।