नारायणीमा जल सम्भाव्यता अध्ययनको लागि एक करोड : कृषि मन्त्री लामा

चितवन, ३१ साउन । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले नारायणीमा जल यातायात सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताएका छन् ।
चितवनको देवघाटदेखि भारतीय सिमाना त्रिवेणी–भैसालोटनसम्म नारायणी नदीमा जल यातायात सम्भाव्यता अध्ययन गर्नका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेक लामाले बताएका हुन् । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जलमार्गबाट समेत स्वदेशी तथा विदेशी तीर्थालुहरु देवघाटमा आउने वातावरण सिर्जन गर्नका लागि जल यातायात महत्वपूर्ण हुने लामाले बताए । देवघाटधाममा एक महिनादेखि सञ्चालन गरिएको बोल ओम महोत्सवको बिहीबार समापन गर्दै मन्त्री लामाले नारायणी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्न प्रदेशको बजेटले नपुगेमा केन्द्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
देवघाटधामलाई अन्तर्राष्ट्रिय धार्मिक केन्द्र बनाउनका लागि जल यातायातले ठूलो भूमिका खेल्ने भएकाले चितवनको ठिमुरादेखि भारतीय सिमानासम्म लज यात्राको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । लामाले देवघाटधाममा बाँदर आतंक नियन्त्रण गर्नका लागि सरकार गम्भीर भएर लागेको बताए । देवघाट क्षेत्रलाई व्यवस्थित बनाउनको लागि देवघाटमा बाँदर पार्क निर्माण गर्ने तर्फ प्रदेश सरकारको तयारी भइरहेको लामाले बताए ।
काठमाडौँको स्वयम्भू, पशुपति, चितवनको देवघाट, मकवानपुर र रसुवामा समेत बाँदरले दुख दिन थालेको उल्लेख गर्दै लामाले बाँदरलाई एक ठाउँबाट अर्को ठाउँमा लगेर समस्याको समाधान नहुने बताए । ‘बाँदरलाई गाडीमा हालेर ओसारेर अर्को ठाउँमा पु¥याउँदा मात्रै यसको समाधान हुँदैन’ लामाले भने, ‘बाँदरलाई यथास्थानमा नै व्यवस्थापन गर्नुपर्छ ।’ बाँदर पार्क निर्माणको लागि देवघाटधामको नारायणी नदी किनारको जंगलमा फलफूलका रुखहरु रोप्नका लागि लामाले आग्रह गर्दै पार्क निर्माणपछि बाँदरलाई व्यवस्थापन गरिएको हेर्न समेत पर्यटकहरु आउने लामाको भनाइ छ ।
देवघाटधाममा अष्टधातुबाट निर्माण गरिने भगवान शिवको ३० फिट अग्लो मूर्ति निर्माणको लागि सहयोगार्थ देवघाटधाम संरक्षण प्रतिष्ठानले महोत्सवको आयोजना गरेको हो । चार वर्ष अगाडिदेखि सुरु गरिएको अभियानका क्रममा ५७ लाख रुपैयाँ तथा ६५ क्विन्टल विभिन्न धातुहरु जम्मा भएको प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले बताए ।

बोल ओम महोत्सव समापनका अवसरमा उद्योग वाणिज्य संघ चितवनका सदस्य विनोद पौडेल, महोत्सव अवधिभरी श्रीमद्भागवत वाचक बालकृष्ण अर्याल, शिवपुराण वाचक बुद्धिसागर भण्डारीलगायतले मन्तव्य राखेका थिए । देवघाटधाम संरक्षण प्रतिष्ठानका सचिव विष्णु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोषाध्यक्ष शारदा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

Promise Education Consultancy