नेफ्स्कुनको स्थापना दिवसमा १८ सहकारी संस्था सम्मानित

चितवन, ३१ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३१ औँ स्थापना दिवसको अवसर पारेर चितवन, पूर्वी नवलपरासी र मकवानपुरका विभिन्न सहकारी संस्थाहरुलाई सम्मान गरिएको छ ।
नेफ्स्कुनको फिल्ड कार्यालय नारायणगगढले आयोजना गरेको स्थापना दिवसको कार्यक्रममा तीन जिल्लाका १८ वटा सहकारीलाई सम्मान गरिएको हो । धेरै शेयर पूँजी भएको सहकारी संस्था, नियमित बचत र दैनिक बचत धेरै भएको सहकारी, ऋणको सदुपयोग गराएको सहकारी, सफ्टवयरको कार्यक्रम राम्रोसँग सञ्चालन गरेका सहकारीहरुलाई नेफ्स्कुनले सम्मान गरेको हो । बिहीबार स्थापना दिवसको अवसर पारेर मकवानपुरको एक, पूर्वी नवलपरासीका चार र चितवनका १३ वटा सहकारी संस्थाहरुलाई नेफ्स्कुन फिल्ड कार्यालय नारायणगढले सम्मान गरेको हो ।
कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सहकारी संस्थाहरुलाई उत्पादन मुखी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । कृषिलाई यन्त्रीकरण गर्दै सामुहिक खेती प्रणालीमा गएर व्यावासायिक कृषि उत्पादनको लागि सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको लामाको भनाइ छ । मुलुकलाई आत्मनिर्भर तिर डोहो¥याउनका लागि पनि सहकारी संस्थाहरु उत्पादनमुखी हुनुपर्ने लामाले बताए ।
नेफ्स्कुनको स्थापना दिवसको अवसरमा प्रदेश सांसद रिना गुरुङले सहकारी संस्थाहरुले नागरिकलाई कर तिर्न सक्ने बनाउनको लागि काम गर्नुपर्ने बताइन् । पछिल्लो समय सहकारी क्षेत्रमा विभिन्न विकृति फैलिएको उल्लेख गर्दै गुरुङले यसको नियन्त्रण गर्दै गरिब जनताको साथीको रुपमा सहकारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सहकारी संस्थाहरुले धेरै नेपालीको आयाआर्जन वृद्धि गर्न सफल भएको बताए ।
सहकारी संस्थाहरुले व्यक्तिलाई रोजगार प्रदान गर्नुका साथै स्वरोजगार हुनका लागि प्रेरित गर्दै आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको डल्लाकोटीको भनाइ थियो । नेफ्स्कुन केन्द्रीय सञ्चालन शान्ती अधिकारीको अध्यक्षतामा ३१औँ स्थापना दिवसको कार्यक्रम गरिएको थियो ।