माडीको मुख्य गन्तव्य बन्दै सोमेश्वर

विप्लव काफ्ले
भरतपुर,३१ साउन । माडी नगरपालिकाले सोमेश्वर गढीलाई पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न गृहकार्य सुरु गरेको छ । २० वर्षीय गुरुयोजना निर्माणका लागि आर एण्ड आर ईञ्जिनियरिङ कन्सल्टेन्सीले काम सुरु गरेको छ ।

३ महिनामा गुरुयोजना निर्माणको काम पूरा गर्ने लक्ष्य माडी नगरपालिकाको छ ।
“पयर्टनको मुख्य केन्द्र बनाउने गरी गुरुयोजना निर्माणको काम थालिएको छ”, मेयर ठाकुरप्रसाद ढकालले भने, “अन्य पर्यटनका गन्तव्य जोडेर माडीलाई पर्यटनको ‘हब’का रुपमा विकास गरिनेछ ।”

सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । सोमेश्वर क्षेत्र नजिकै नेपाल भारतको ४५ नम्बर सीमा स्तम्भ छ । यही पर्वत श्रृंखलामा सोमेश्वर गढी छ । पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन यो गढी निर्माण गरेको बताइन्छ ।

मेयर ढकालले दजगजा क्षेत्रबाट उत्तरतर्फ नेपाली भूमिमा गोलपार्क, पातलो गंगा नजिकै शिवालय मन्दिर, आकर्षक वाटर पार्क, फेदीमा पिकनिक स्पट, स्वीमिङ पुललगायत संरचना बनाइने बताए । मेयर ढकालले गढीको विकासका लागि १ करोड बजेट विनियोजन गरिएको बताए ।
“जाने सहज बाटो निर्माणको कामलाई उच्च प्राथिमकता दिएका छौँ”, उनले भने, “बसन्तपुर हुँदै जाने सडकको स्तरोन्नति गरिनेछ ।” माडी–३ मा रहेको बसन्तपुर बजारबाट ११ किमि दक्षिणतर्फ सोमेश्वर फेदी पर्छ । “फेदीमा रहेको छरछरेबाट ५ किमि सडक बनाउने काम भइसकेको छ”, उनले भने, “करिब १ किमि पैदल हिडेपछि गढीमा पुग्न सकिन्छ ।”

पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले गढी क्षेत्रमा पर्यटन पूर्वाधार विकास भएमा पर्यटकको चहलपहल बढ्ने बताउँछन् । “माडी र भारतको दृश्यावलोकन गर्न चाहने पर्यटक बढ्छन्”, उनले भने, “सोमेश्वरको विकासले समग्र माडीको पर्यटनलाई टेवा पु¥याउनेछ ।” संघीय तथा प्रदेश सरकारका पर्यटनमन्त्रीलाई सोमेश्वरगढीको विकास गर्न ध्यानाकर्षण गराइएको उनले बताए ।

पर्यटन मन्त्रालयले नेपालका ७० वटा गन्तव्यको सूचीमा माडीको एक गन्तव्य छनौट गर्ने तयारी गरेपछि सोमेश्वरलाईनै मुख्य गन्तव्यका रुपमा विकास गर्न लागिएको बताए ।

“देशभरिका ७० गन्तव्य मध्ये सोमेश्वरपनि परेमा यहाँ सरकारलेनै पूर्वाधारमा थप बजेट दिनेछ”, उनले भने, “माडीलाई पर्यटन हब बनाउन थप मद्धत हुनेछ ।” गुरुयोजना निर्माणको जिम्मा पाएको आर एण्ड आर इन्जिनियरिङ कन्सल्टेन्सीका प्रमुख ईञ्जिनियर डा. राजन सुवालले गढीको करिब १० विघा क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने गरी गुरुयोजना निर्माण हुन लागेको बताए । “स्थलगत सर्वे सकिएको छ, कस्ता पूर्वाधार बनाउने भन्नेबारेमा छलफलमा छौँ”, उनले भने, “धर्म, प्रकृति र सीमा क्षेत्रबारे अध्ययन, अवलोकन गर्ने पर्यटक आउने गरी ‘माष्टर प्लान’ बनाउँदैछौँ ।”
उनले सोमेश्वर क्षेत्रमा पर्यटन पूर्वाधार विकास भएमा माडीमा ३ दिनसम्म पर्यटकको बसाई लम्बाउन सकिने बताए । “उचाइमा गढी भएपनि २÷३ वर्ष केवुलकार सञ्चालन गर्न सकिने अवस्था छैन, पर्यटकको ‘फ्लो’ कम छ”, उनले भने, “भविष्यमा चलाउन सकिन्छ, नगरपालिकाकै सुझाव अनुसार गुरुयोजनामा समावेश हुन पनि सक्छ ।”
वाल्मीकि र सौराहा जोडिने
धार्मिक तथा कृषि पर्यटनका क्षेत्रलाई सौराहा र वाल्मीकि जोड्न पहल भइरहेको माडी नगरपालिकाले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जकै कारण माडीकै भूमि भएपनि वाल्मीकि आश्रममा पुग्ने पर्यटक भारतीय भूमि हुँदै जानुपर्ने अवस्था छ ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा आउने पर्यटकलाई माडी भित्राउन निकुञ्ज चुनौतीका रुपमा देखिएको छ । “गोद्धकबाट वाल्मीकि र वगईबाट सौराहा जाने बाटो बनाउनेबारे निकुञ्जसँग छलफल चलिरहेको छ । तर, स्वीकृति नपाउँदा काम अघि बढ्न सकेको छैन”, मेयर ढकालले भने, “यी दुई गन्तव्य जोड्न सके स्वदेशी तथा विदेशी पर्यटकलाई माडी भित्र्याउने राम्रो वातावरण बन्छ, तर निकुञ्ज सकारात्मक बनेको छैन ।”
उनका अनुसार सेरुवा हँुदै वाल्मीकि ट्याक निर्माणका लागि प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको छ । केही वर्ष पहिले निकुञ्जले सौराहा हुदै वगई जाने ट्रयाक खोलेपनि सञ्चालनमा नआउँदा बाटो पुनः बनाउनुपर्ने अवस्था छ ।

“त्रिवेणीधाममा झोलुङगे पुलको ईआईए भएको छ, पुल बनेमा नेपाली भूमि हुदै वाल्मीकि जाने अवस्था बन्नेछ”, उनले भने, “गोद्धकबाट ट्रयाक खुलेमा २३ किमि दुरीमा वाल्मीकि पुग्ने अवस्था आउनेछ ।” ठोरी हुदै सोमेश्वरगढी जाने र गोद्धक हुदै वाल्मीकि जाने गरी सडक सञ्जाल विकास गराउन पहल भैरहेको बताए ।
होमस्टे थपिदै
माडी नगरपालिकाले माडीमा होमस्टे (घरबास) विस्तार गर्ने भएको छ । माडी–१, वनकट्टा र माडी–३, बघौडामा १०–१० वटा होमस्टे बनाउन स्थानीयसँग नगरपालिकाले पहल गरेको छ ।

वनकट्टामा बोटे र बघौडामा थारू जातिका होमस्टे बनाइने छ । मेयर ढकालले होमस्टे निर्माण गर्न सहुलियत ऋण दिने बताए । “४ प्रतिशत ब्याजमा ऋण दिएर प्रोत्साहन गरिने छ”, उनले भने, “सांस्कृतिक भवन निर्माणमा नगरपालिकाले सहयोग गर्नेछ ।”
होमस्टेमा आवश्यक पर्ने कुर्सी, पलङ, बिछयौना लगायतका सामान नगरपालिकाले दिने उनले बताए ।

बैशाखदेखि होमस्टे सञ्चालनमा ल्याउने तयारी रहेको छ । होमस्टे निर्माणका लागि स्थानीय समिति बनाइएको छ । माडीमा ३ वर्ष पहिले माडी–८ शिवद्वारमा ११ वटा होमस्टे सञ्चालनमा ल्याइएको थियो ।

माडी तीनतर्फ निकुञ्ज र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको उपत्यका हो । स्थानीय रहनसहन र सांस्कृतिको प्रवद्र्धनमा होमस्टे सघाउने बताए । नगरपालिकाले होमस्टे प्रर्वद्धनका लागि ७५ लाख बजेट छुट्याएको छ ।

Promise Education Consultancy