आन्दोलनरत सात दल र नगरपालिकाबीच कर समायोजन गर्ने सहमति, आन्दोलन फिर्ता

चितवन, ३१ साउन । आन्दोलनरत सात दल र रत्ननगर नगरपालिका बीच कर समायोजन गर्ने सहमति भएको छ ।गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको हो  ।

कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गए राति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता लिइएको छ ।

अस्वाभाविक रूपमा कर बढाइएको भन्दै नेपाली काँग्रेसलगायत विभिन्न सात राजनीतिक दलले चार दिनदेखि आन्दोलन गर्दै आएका थिए ।

सहमतिपत्रमा नगरपालिकामा विलासिताका सामान नकिन्ने, पुराना सामानलाई लिलामी प्रक्रियामा लैजाने, नगरवासीमा भेदभाव नगर्ने, कानूनी प्रक्रिया पु¥याएर मात्रै कर्मचारी राख्ने, रू ३० लाखसम्मका योजना उपभोक्ताबाट गराइने र अरु ठूला योजना टेन्डरमार्फत् गर्ने, नगरस्तरीय दललाई उपेक्षा नगर्नेजस्ता विषयमा सहमति भएको छ ।