रोनाल्डोलाई पूर्वटिममेट रामोसको यस्तो व्यंग्य

 

एजेन्सी, साउन ३० । स्पेनिस रियल मड्रिडका कप्तान सर्जियो रामोसले हालसालै क्लब छाडेर इटालियन क्लब युभेटसमा अनुबन्ध भएका आफ्ना पूर्वसहकर्मी स्टार क्रिस्टियानो रोनाल्डोप्रति व्यंग्य गरेका छन् । युइएफए सुपर कपको पूर्वसन्ध्यामा रामोसले आफ्ना पूर्वसहकर्मीप्रति व्यंग हानेका हुन् ।

रोनाल्डोले ९ वर्षपछि रियल मड्रिड छाडेर युभेन्टस गएपछि केही दिनअघि एक अन्तर्वार्तामा उनले युभेन्टस आफ्नै परिवारजस्तो लागेको बताएका थिए । उनले छोटै समयमा टोलीका सदस्यसँग घुलमिल भएको भन्दै उक्त विचार राखेका थिए ।

रामोसले रोनाल्डोको उक्त भनाइप्रति इंगित गर्दै व्यंग्य कसेका हुन् । रामोसले रियलमा पहिलेदेखि नै पारिवारिक वातावरण भएको बताएका छन् ।

‘हामीले यहाँ सधंै एकै परिवारजस्तो महसुस गर्यौं । मलाई थाहा छैन कि, उनले अहिले के भन्दैछन्,’ पत्रकारसँग कुरा गर्दै रामोसले भनेका छन्, ‘हामीले परिवारको रूपमा सहकार्य गरेर धेरै सफलता हात पारेका थियौं । र, उनी हाम्रो परिवारका एक मुख्य सदस्य थिए ।’

सोहीक्रममा रामोसले रोनाल्डोजस्तो खेलाडी गुमाउनु क्लबका लागि ठूलो घाटाको कुरा भए पनि आफूहरू उनीबिना पनि जितका लागि आतुर रहेको बताए । ‘रियल मड्रिडको इतिहासमा धेरै आएर गएका छन् । तर, जित्न छोडेको छैन,’ रामोसले भने ।

सुपर कपअन्तर्गत रियल मड्रिड र एथ्लेटिको मड्रिड आज राति १२ः४५ बजेदेखि भिड्दैछन् ।

Promise Education Consultancy