सम्पादकीय : युवाहरुलाई सलाम

नेपालमा अधिकांश युवाहरु सामाजिक क्षेत्रमा भन्दा पनि अन्य क्रियाकलापमा बढी सक्रिय भएको पाइन्छ । क्याम्पसमा अध्ययन गर्ने युवाहरु नेपालमा प्राय धेरै युवाहरु साथीभाइसँग रमाइलो गर्ने, आफ्नो काम गर्ने तथा गफ गरेर दिन बिताउने गरेका हुन्छन् । तर यी युवा शक्तिहरु सामाजिक कार्यमा अग्रसर हुने हो भने मुलुकले परिवर्तनको काँचुली फेर्न सक्छ । पछिल्लो समय युवाहरु डिप्रेशनको सिकारमा समेत पर्ने गरेका छन् । परिवारबाट अलग भएर बस्ने, एकान्त मन पराउने तथा पारिवारिक मायाको अभावमा युवाहरु कुलतमा समेत लाग्ने गरेका छन् । तर यिनै युवाहरुलाई समेटेर सामाजिक क्षेत्रमा काम गर्न सकियो भने समाज र राष्ट्रलाई नै फाइदा पुग्ने गर्दछ ।
नारायणगढमा रहेका युवाहरु साई केन्द्रसँग जोडिदै सामाजिक कार्यमा जुटेका छन् । क्याम्पसमा अध्ययन गर्ने युवाहरुले आफ्नो खाजा कटाएर विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्प्युटर जस्तो सामग्री किनेर दिनु सह्रानीय काम हो । अभिभावकहरुले खाजा खान दिएको केही रकमहरु जम्मा गर्दै युवाहरुले जसरी आर्थिक अभावले पिल्सिएको विद्यालयलाई सहयोग गरे यो प्रशसनीय काम हो । ती युवाहरुले जसरी नै समाजमा रहेका अन्य युवाहरुले पनि समाज प्रतिको आफ्नो भूमिकालाई गहन बनाउँदै लैजाने हो भने साँच्चै समाजमा परिवर्तन आउन समय लाग्ने थिएन । समाजमा रहेका हरेक बालबालिकाहरुले आधुनिक शिक्षा पाउने थिए तथा कुनै पनि समुदायका बालबालिकाहरु शिक्षाको उज्यालोबाट बञ्चित हुनुपर्ने थिएन ।
अहिले मुलुकमा १८ वर्षदेखि ३० वर्षका युवाहरुको संख्या अत्यधिक रहेको छ । जुन जनशक्ति परिवर्तनको लागि संवाहक समेत हुन् । यसरी ठूलो संख्यामा रहेका युवाहरुले आफूलाई सामाजिक काममा समर्पीत गर्न सके भने समाजबाट अपराध समेत अन्त्य हुने थियो । ‘खाली दिमाग सैतानको घर’ घर भन्ने नेपाली उखान नै रहेको छ । त्यसैले खाली बस्नु भन्दा साथीहरु जम्मा भएर विभिन्न विषयमा छलफल गर्दै युवाहरु सामाजिक कार्यमा अग्रसर हुन सक्छन् । हप्ताको एक दिन सामाजिक कार्यमा सबैले जोड दिने हो हामीले खोजेको समृद्धि हाम्रै पालामा सम्भव छ । देशमा २१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको छ । त्यसभन्दा माथीका सबै समुदायले राम्रोसँग खानबस्न पाउने गरेका छन् । ती समुदायका हरेक व्यक्तिले आफूलाई जिम्मेवार बनाउँदै आफूले सक्ने सहयोग गर्ने हो भने मुलुकबाट नै गरिबी हट्न सक्छ ।

Promise Education Consultancy