चोरी तस्करी, गुण्डागर्दी नियन्त्रण, शान्त समाज निर्माण गर्ने मुख्य उद्देश्य : डिएसपी दयानिधि

शिशिर सिंखडा,

चितवन, साउन २९ । पूर्वी चितवनको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले भयरहित समाज बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
यस क्षेत्रमा हुने चोरी तस्करी, गुण्डागर्दी नियन्त्रण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको भन्दै इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख समेत रहेका डि.एस.पी. ज्ञवालीले भयरहित समाजको निर्माण गर्न सकेमात्र देश विकास गर्न सकिने बताए ।

लागुपदार्थ दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन र विक्रीमा नियन्त्रण तथा चोरी तस्करीहरु नियन्त्रण गर्दै शान्त समाज निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । चाडपर्व नजिकिदै गर्दा हुन सक्ने अवाञ्छित घटना र लुटपाट, चोरी तस्करीको नियन्त्रण गर्न समेत प्रहरी सजग रहेको उनले बताए ।

गत साउन २ गते सरुवा भई आएका डिएसपी ज्ञवालीले आफू आएपछि १६ किलो लागुपदार्थ चरेश बरामद गरेको र सोको छानविन गरी दोषी पत्ता लगाउने काम भइरहेको समेत उनले बताए । त्यस्तै घरेलु एवम् धारिलो हतियार सहित केही व्यक्तिहरु पक्राउ गरिएको र उनीहरुलाई कारवाही अगाडि बढाएको उनले बताए । विभिन्न अवैध ढंगबाट खोलाजन्य पदार्थहरु निकासी गरेका साधनलाई पक्राउ गरी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको समेत उनले जानकारी दिए । यस क्षेत्रलाई भयरहित, स्वच्छ र समुन्नत समाज बनाउनको लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक पार्टी प्रतिनिधि, नागरिक समाज, पत्रकार, बुद्धिजीवि लगायत सम्पूर्ण समुदायले प्रहरीलाई साथ र सहयोग दिन समेत उनले आग्रह गरेका थिए ।

पर्यटकीय क्षेत्र सौराहामा सुरक्षा व्यवस्था मजबुत

प्रहरी नायव उपरीक्षक ज्ञवालीले देशकै तेश्रो पर्यटकीय गन्तव्य सौराहालाई आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाइएको बताउँदै व्यवसायीहरुले पर्यटकीय क्षेत्रमा २४सै घण्टा व्यवसाय संचालन गर्ने अवस्था रहेमा पनि मजबुत सुरक्षा व्यवस्था दिन प्रहरी तयार रहेको उनले बताए ।

साइकल गस्तीमा प्रहरी

केही दिन अगाडि मात्र सरुवा भई आएका डि.एस.पी. ज्ञवालीले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै “टोल टोलमा प्रहरी” अभियान अन्तर्गत प्रहरीहरु परिचालन गरी बजार क्षेत्र एवम् ग्रामिण क्षेत्रमा पनि शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनले बताए ।

हालै रत्ननगर उद्योग वाणिज्य संघले उपलब्ध गराएको ५ वटा साइकलबाट पनि टोल टोलमा प्रहरीले गस्ती गरिरहेको उनले बताए । टोल टोलमा प्रहरीका अतिरिक्त क्विक रेस्पोन्स टिम (क्यूआरटी) मार्फत् तत्काल प्रहरीले कुनैपनि घटना वा गतिविधिमा पुग्ने गरेको छ भने मोबाइल गस्ती, पिकेट र गस्ती गर्ने कार्य समेत प्रहरीले गरिरहेको ज्ञवालीले बताए ।

दैनिक चेकिङ्ग गर्दै प्रहरी

विभिन्न बजार क्षेत्र र ग्रामीण क्षेत्रमा हुने सवारी साधन चोरीको नियन्त्रणका अतिरिक्त विभिन्न अवैध गतिविधिहरु नियन्त्रण गर्न प्रहरीले दिनहुँ चेकिङ्ग कार्य समेत गर्ने गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे), विना हेल्मेट मोटरसाइकल चलाउने, चालक अनुमति पत्र विना सवारी साधन चलाउने कार्यको नियन्त्रण गर्न प्रहरीले दैनिक ३ देखि ५ स्थानमा चेकिङ्ग गर्न थालेको उनले जानकारी दिए । यस्ता चेकिङ्गहरु दिउसो तथा रातको समयमा पनि गर्दै आएको उनले बताए । साथै पूर्व पश्चिम राजमार्ग क्षेत्रको टिकौलीदेखि बेल्सीसम्म प्रहरीले राती तथा दिउसोको समयमा सडक सुरक्षा गस्ती समेत गरिरहेको उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय टाँडी अन्तर्गत रत्ननगर नगरपालिका र कालिका नगरपालिका क्षेत्र रहेको छ । यस क्षेत्रमा करिव १ सय जना प्रहरी कार्यरत रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । यस क्षेत्र अन्तर्गत जुटपानी प्रहरी चौकी, पञ्चकन्या प्रहरी चौकी, बछौली प्रहरी चौकी, खोलेसिमल बीट, पदमपुर, जिरौना, शान्तिचोक, टाँडी, कृष्ण मन्दिर बीट रहेका छन् । मैनाहा अस्थायी पोस्ट र पर्यटक प्रहरी पोस्ट सौराहा समेत यसै क्षेत्रमा रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।