मानव बेचबिखनको थलो बन्दै चितवन

शान्ता अधिकारी
चितवन, २९ साउन । मानव बेचबिखनको ओहरदोहर क्षेत्र (टान्जिट प्वाइन्ट) मानिएको चितवन जिल्ला पछिल्लो समयमा आएर मानव बेचबिखन केन्द्र जस्तै बन्न थालेको छ ।
प्रहरीको पछिल्लो अनुसन्धानले पनि चितवनबाट रोजगारीको लागि भारत लैजाने बहानामा मृगौला चोरी गरि बिक्री गर्ने देखि युरोपियन मुलुकमा पढ्न पठाउने बहानामा भारतीय मार्ग हुँदै खाडी मुलुकमा नेपाली युवालाई बेच्ने गिरोह समेत सक्रिय रहेको खुल्न आएको छ ।
केही दिन अगाडी कुनै दिन आफै पीडित बनेका तर पछिल्लो समयमा मृगौला बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको चितवन प्रहरीले यति वेला समुद्रपार विशेष गरि युरोपियन मुलुकमा पठनपाठन र रोजगारीको लागि भनेर खाडी मुलुकमा युवा तस्करी गर्ने समूहको खोजी कार्य गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जर्मनी पठाउने भनेर भारती बाटो हुँदै टयूनिशिया पु¥याएका चार जना यूवाले प्रहरीमा उजुरी दर्ता गराएपछि प्रहरी यस विषयमा सक्रियता बढेको हो ।
यस अघि चितवन हुँदै भारतीय बजारमा यूवायुवतीको बेचविखन हुने गर्दथ्यो । राजधानी काठमाण्डौ उपत्यका, उपत्यका आसपासका ग्रामिण क्षेत्रबाट भारतीय मार्ग हुँदै विदेशमा जान सहज हुन्छ भनेर मानिसहरु ल्याउने र पहिलो रात चितवनमा बास पछि भोली पल्ट भारतीय सीमा कटाउँने गरेको अनुसन्धानबाट खुल्दै आएकोले सोही आधारमा यसको नियन्त्रण शुरु गरिएको थियो । तर, समय वित्दै जाँदा चितवनबाट नै मानव तस्करी हुने गरेको तथ्य खुल्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याँकमा वितेको दुई बर्ष अगाडी अर्थात बिक्रम सम्बत २०७१/०७२ मा जिल्ला प्रहरीमा मानव बेचबिखनका छ वटा मुद्धा दर्ता भएकामा २०७४÷०७५का यो संख्या १० पुगेको छ । यो संख्या २०७३/०७४ मा नौ थियो ।
पछिल्लो समय चितवन प्रहरीले मानव बेचबिखन विरुद्धको अभियानलाई अझै सक्रियता पूर्वक खोजी गरि यसलाई नियन्त्रणमा लागि परेको छ । चितवन प्रवेशका मुख्यमुख्य नाकामा संकास्पद मानिसको पहिचान गरि अनुसन्धान गर्न प्रहरी खटिएका छन् । चितवनको माडी, मुग्लिन, भरतपुरको पुलचोक र लोथ्थर नाकामा नियमित जाँच गरिँदै आएको भएपनि अन्य स्थानमा भने शंकास्पद र सुराक प्राप्त भएमा मात्र जाँच गरिदै आएको छ ।

चितवनका प्रहरी प्रवक्ता ढकालले यसरी गाडीमा यात्रु बनेर भारतीय क्षेत्रमा लैजाने क्रममा अधिकाँश आफन्त र नातागोताका मानिसहरु भएको खुल्न आएको छ । कतिपयले महिलालाई लैजान लागेको हो भने मेरो श्रीमती भन्ने, केटाकेटी हो भने छोरा छोरी भन्ने र पीडितलाई समेत त्यसै भन्न लगाउने गरेको पाइयो । भने कतिपयले विरामी उपचारको लागि भारत लैजान लागेको भनेर गाउँमा रहेको अस्पताल र स्वास्थ्य केन्द्रको किर्ते पत्र समेत ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपालको कानुनमा कुनै पनि व्यक्तिलाई तोकिएको ठाउँ अर्थात गन्तव्यमा नपठाई अन्यत्र पठाउने, जे भनिएको छ त्यो प्रकारको रोजगारी नदिनु लाई बेचबिखन भन्ने गरिन्छ ।

नेपालको कानुनले मानव बेचबिखनलाई जघन्य अपराधको सूचीमा राखेको छ । मानव बेचबिखन र ओसारपसार नियन्त्रणको लागि ऐन र नियमावली समेत बनाएर कार्यान्वयन गरिरहेको छ । शुरुमा बेचबिखन भनेर पर्ने गरेका मुद्धामा पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारेर शुरुको बयान फेर्ने र छुटकरा पाउने गरेकोले पनि यस प्रकारका मुद्धामा मुख्य कारोवारीहरुले उन्मुक्ति पाउने गरेका छन् ।

Promise Education Consultancy