रत्ननगरमा कर बृद्धिको विरोधमा सात दलको रिले अनसन सुरु (भिडियो)

चितवन, २७ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कर वृद्धिको विवाद चुलिएको छ । जसका कारण सात राजनीतिक दलले कर बृद्धिको विरोधमा थालेको आन्दोलन बढ्दै गएको छ ।
नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर बृद्धि गरेको भन्दै यहाँका विभिन्न राजनीतिक दलले आजदेखि रिले अनसन शुरु गरेका हुन्

कर बृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि आज बाध्यभएर अनसन सहितको आन्दोलन थालेको नेपाली काँग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले जानकारी गराए। यहाँका विभिन्न सात राजनीतिक दलले संघर्ष समितिनै बनाएर आन्दोलन थालेका छन्।

घिमिरेकाअनुसार रिले अनसनमा नेपाली काँग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक पार्टी रहेका छन्। नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि जनपक्षिय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर बृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरुले जनाएका छन्।

कर बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ। ‘बृद्धि गरिएको कर तत्काल फिर्ता हुनुपर्छ, घिमिरेले भने, नगरपालिकाले आर्थिक आम्दानी गर्ने हो भने अन्य वैकल्पिक श्रोतको खोजी गर्नुपर्छ, नत्र आन्दोलन जारी रहन्छ।’

आज उपस्थित भएका आन्दोलनरत पार्टी कार्यकर्ताले नगरपालिकाको कर संकलनमा समेत अबरोध गरेका छन् । कर तिर्ने स्थानमा झयाल बन्द गरेर उनीहरुले करतिर्न आएका सर्वसाधारणहरुले फिर्ता पठाएका थिए।

यसअघि उनीहरुले सांकेतिक धर्ना, तथा प्रचारात्मक कार्यक्रम गरेका थिए भने वडा कार्यालयमा पुगेर कर नतिर्न आग्रह गरेका थिए। मुख्यगरी एकीकृत सम्पत्ती कर, फोहरमैला कर र व्यवसाय करमा बढी बृद्धि गरेको आरोप उनीहरुको छ।

रत्ननगर ९ का गोपाल शर्माले अघिल्लो वर्ष आफ्नो जग्गाको रु ३१५ तिरेकोमा अहिले त्यही जग्गाको रु ३ हजार २४० रुपैयाँ करतिर्नुपरेको बताए।

यता रत्ननगर नगरपालिकाले भने करको दर बढाएको नभई करको दायरा मात्रै बढाएको दावी गर्दै आएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ढुंगानाले यसअघि कतिपय स्थानमा सेवा मात्रै दिएको, कतिपय स्थानमा न्यून शुल्क लिईदै आएको र कतिपय क्ष्नसमेटिएको क्षेत्रमा केन्द्रिय नीति अनुसार केही कर बृद्धि गरेको तर अस्वभाविक रुपमा कुनैपनि क्षेत्रमा करको दर नबढेको दावी गरे।

कतिपय प्रचारमा आएको कुरा सहि नभएको भन्दै ढुंगानाले अब जनतालाई करको विषयमा सूसुचित गर्ने अभियानमा नगरपालिका लागेको बताए । उनले आन्दोलनरत पक्षसँग समेत सम्वाद र छलफल प्रक्रिया अघि बढेको जनाईएको छ । बढेको कर पनि ठुला व्यापारी र व्यापार गर्ने स्थानमा बढेको नगरपालिकाले जनाएको छ ।

Promise Education Consultancy