चार सय ३२ जना प्रहरी सहायक निरीक्षक दीक्षित

चितवन, २५ साउन । चितवनमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट चार सय ३२ जना प्रहरी सहायक निरीक्षकहरु दीक्षित भएका छन् । गत वर्षको साउनबाट सुरु भएको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम एक सय ७४औँ समूहका प्रहरी सहायक निरीक्षकहरु शुक्रबार दीक्षित भएका हुन् ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट १४ जना महिलासहित दीक्षित भएका चार सय ३२ जना प्रहरी सहायक निरीक्षकहरु शुक्रबारदेखि कार्यक्षेत्रमा खटिएका छन् । प्रहरी सहायक निरीक्षक पदका लागि छनौट भएका चार सय ४१ जना मध्ये तालिमकै क्रममा चार जनालाई प्रहरी सेवाबाट बर्खास्त गरिएको थियो । त्यस्तै, चार जनाको स्वास्थ्यमा समस्या देखिएका कारण उनीहरु अर्को तालिममा सहभागी हुने गरि बिदा बसेका थिए भने एक जनाले तालिमको क्रममा ज्यान गुमाएका थिए ।
शुक्रबार दीक्षित भएका प्रहरी सहायक निरीक्षकहरुलाई बधाई तथा शुभकामना दिन उनीहरुका अभिभावक शिक्षालयमा उपस्थित थिए । दीक्षित भएका प्रहरी सहायक निरीक्षकहरु आफ्ना आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । करिब एक वर्षको आधारभूत तालिम पश्चत दीक्षान्त भएर कार्यक्षेत्रमा खटिन पाउँदा जुनियर प्रहरी अधिकृतहरु उत्साहित देखिन्थे ।
दीक्षित भएका प्रहरी अधिकृतहरुलाई जनताको सेवा र सुरक्षामा खटिनका लागि आग्रह गरिएको छ । कार्यक्षेत्रमा खटिने प्रहरी अधिकृतहरुलाई राष्ट्र सेवामा लाग्न आग्रह गर्दै गृहमन्त्री रामबहादुर थापाले महिला, दलित र समाजका सिमान्तकृत समुदाय प्रति हुने गरेका गैरमानवीय घटनालाई समाजबाट निरुत्साहित गर्न निर्देशन दिएका छन् । पीडकलाई दण्डित गर्दै अमानवीय कामहरुलाई समाजबाट निरुत्साहित गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने थापाले बताए ।
नेपाल प्रहरीसँग स्रोत र साधनको अभाव हुँदा हुँदै पनि अपराध अनुसन्धानमा महत्वपूर्ण उपलब्धी हासिल गर्दै आएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । नागरिकहरुले प्रहरीसँग ठूलो अपेक्षा राखेकाले नागरिकको प्रहरी प्रतिको विश्वास र सामिप्यतालाई अझ प्रगाढ बनाउनका लागि सबै प्रहरीहरु लाग्नुपर्ने खनालको भनाइ थियो । प्रहरीको व्यवहार, पेशागत आचरण तथा क्रियाकलापहरु नागरिहरुका लागि विश्वसनीय हुनपर्ने खनालले बताए
तालिमका क्रममा उत्कृष्ट हुने प्रहरी सहायक निरीक्षकहरुलाई गृहमन्त्री थापाले पुरस्कार प्रदान गरेका थिए । प्रहरी सहायक निरीक्षक एक सय ७४ औँ समूहबाट हरिशरण ढकाल पहिलो तथा सञ्जय कार्की दोस्रो भएका थिए ।