धुर्मुसले चितवनमै बनाउने भए अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला !

चितवन, २३  साउन । अन्ततः धुर्मुस–सुन्तली फाउन्डेशनको ‘ड्रीम प्रोजेक्ट’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण चितवनमै हुने भएको छ । चार महिनाभन्दा अघिदेखि यस कार्यका लागि खटिएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा नै सो रंगशाला बनाउने भएका हुन् ।

उनले चार महिनाको अवधिमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन–मूल्यांकनपछि कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण गर्ने भएका हुन् ।

भरतपुर महानगरपालिका मेयर रेणु दाहालका अनुसार यसका लागि केही दिनभित्रै धुर्मुस–सुन्तली फाउन्डेसन र महानगरपालिकाबीच सम्झौता हुने बताइन् ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको दाहालले बताइन् ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए । त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० बिघामा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्दैछ ।

करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।

Promise Education Consultancy