सुनका गहना चोर्ने महिला सार्वजनिक, ७ महिना ५० तोला सुन चोरी (भिडियो)

चितवन, २३ साउन । भरतपुर महानगरपालिकाको बजार क्षेत्रका विभिन्न ६ वटा घरमा चोरी गरेको आशंकामा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
भरतपुरको विभिन्न घरबाट करिब एक सय तोला भन्दा बढी सुनको गरगहना चोरी गरेको आरोपमा पक्राउ परेकी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ की सरिता विकलाई चितवन प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

 

चितवनबाट चोरी गरेको गहनाहरु काठमाडौँको सानुरत्न शाक्यको सुनचाँदी पसल र चितवनकै लेखबहादुर विकले सञ्चालन गरेको रश्मी ज्वेलरीमा लगेर बिक्री गरेको भेटिएकोले सुनचाँदी पसलका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।


सरिता विकले सुनचाँदीको विभिन्न गहना गरि ७० लाख रुपैयाँ बराबरको सामान चोरी गरेको पाइएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । चितवनमा अन्य ठूला चोरीहरुका गिरोह समेत पक्राउ गरिरहेको उल्लेख गर्दै राठौरले जिल्लामा सहकारी संघसंस्थाहरुको चोरीको घटना बढेकोले त्यसको समेत अनुसन्धान भइरहेको बताए ।
त्यस्तै, नारायणगढ बजारमा रहेको हाम्रो ईलेक्ट्रोनिक्स पसलबाट करिब ३० लाख ८० हजार रुपैयाँ बराबरको घडी तथा मोबाइल चोरी गरि भागेका भारतका मुन्ना साह र विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न लागेको २३ लाख रुपैयाँ लिएर फरार भएका नवलपरासीको गैंडाकोटका अर्जुन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारबाही अगाडि बढाएको प्रहरी कार्यालय चितवनले जनाएको छ ।