मानव सेवा आश्रमको आयव्यय सार्वजनिक

चितवन, २३ साउन । सडकमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको स्याहार तथा संरक्षण गर्दै आएको मानव सेवा आश्रम चितवन शाखाले आर्थिक वर्ष २०७४/०७५ को आयव्यय सार्वजनिक गरेको छ ।
भरतपुर १० बाइपास रोडमा रहेको मानव सेवा आश्रमले बुधबार आश्रममा विशेष मिलन समारोहको आयोजना गरेर आयव्यय विवरण एवम् प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा मानव सेवा अश्रमका कोषाध्यक्ष होमनाथ अधिकारीले आयव्यय प्रस्तुत गर्दै विभिन्न शीर्षकमा आश्रममा ५९ लाख ६० हजार सात सय ६५ रुपैयाँ आम्दानी भएको बताए ।
त्यस्तै, विभिन्न शीर्षकमा ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको र बैंकमा २३ लाख १० हजार रुपैयाँ बचत रहेको अधिकारीको भनाइ थियो । मानव सेवा आश्रम चितवनमा विभिन्न ११ जना व्यक्तिले सेवा दिइरहेका छन् भने हाल आश्रममा ५२ जना असहाय व्यक्तिहरुले आश्रय लिइरहेका छन् । आश्रमकी जिल्ला संयोजक रुपा केसीका अनुसार अहिलेसम्म तीन सय ५० जनाको उद्धार गरेर आश्रममा ल्याइएको छ । जसमध्ये एक सय २६ जनालाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको केसीले बताइन् ।
आश्रममा आएका मध्ये ५८ जनाले देह त्याग गरेका, ४५ जना स्वेच्छाले बाहिरिएका तथा ६९ जना अन्य शाखाहरुमा लगेर राखिएको केसीले जानकारी दिइन् । आगामी २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त मुलुक बनाउने उद्देश्यले मानव सेवा आश्रम सञ्चालन गरेको अध्यक्ष रामजी अधिकारीले बताए । मानव सेवा आश्रम चितवनको लागि आफ्नै भवन निर्माण गर्न १० लाख रुपैयाँ आम्दानी भएको जानकारी गराउँदै अधिकारीले भरतपुरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकाल प्रमुख अतिथि रहेको कार्यक्रममा लायन्स क्लब ३२५ बीटुका पूर्व डिष्ट्रिक्ट गभर्नर घनश्याम भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

Promise Education Consultancy