मानब बेचबिखन सम्बन्धी सचेतनामूलक तालिम

चितवन, २३ साउन । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने भोर्लेका महिलाहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतना मूलक तालिम दिइएको छ ।
माइती नेपाल क्षेत्रीय कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रममा भोर्लेका महिलाहरुलाई मानव बेचबिखन हुन सक्ने अवस्था र अपनाउनुपर्ने सावधानीका बारेमा सचेत गराइएको थियो । माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका संयोजक ईश्वर गिरीले उत्पीडित समुदायका महिला तथा युवतीहरु बिक्री हुने गरेको बताए । गुरुङ, तामाङलगायतका जनजातिहरुलाई दिइएको तालिममा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर मानव तस्करले विदेशमा लगेर बिक्री गर्ने भएकाले सचेत हुन आग्रह गरिएको थियो ।
यौनजन्य क्रियाकलापमा लगाउन तथा मानव अंगहरु बिक्री वितरण गर्नको लागि समेत मानव बेचबिखन हुने गरेको गिरीले बताए । प्राकृतिक प्रकोपका समय र गरिबीको चपेटामा परेका समुदायहरुमा मानव तस्करहरु सक्रिय हुने भएकाले सचेत हुनका लागि आग्रह गरिएको छ ।
वैदेशिक रोजगारमा जानुपर्ने भएमा नेपालकै विमानस्थल प्रयोग गर्न तथा जाने ठाउँको बारेमा राम्रोसँग जानकारी लिनको लागि माइती नेपालकी प्रतिनिधि जयन्ती खनालले आग्रह गरिन् ।