मुलुकी अपराध ऐन २०७४ : गाइगोरू मारे तीन वर्ष, गोपनियता भंग गरे एक वर्ष कैद !

सन्ताेष भट्टरार्इ
काठमाडाैँ, २२ साउन ।  आगामी १ भदौबाट नेपालमा गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ मा पशुपंक्षी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्न गराउन बन्देज गरिएको छ ।
कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैदको हुने भएको छ । उपदफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँँसम्म जरिवाना तोकिएको छ । आफ्नो वा अरुको जिउज्यानमा पुर्‍याउने क्षतिबाट बच्नका लागि गरेको उद्योगबाट गाई वा गोरु मरेमा वा चोटलागेमा ऐन आकर्षित हुने छैन् ।

पशुपंक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने

ऐनको दफा २९० को उपदफा १ मा कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नु दण्डनिय हुनेछ ।

तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुर्ण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपंक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन भने बाधा पर्ने छैन् । त्यस्ता कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

सार्वजानिक स्थलमा पशु वा पंक्षी मार्न नहुने

ऐनको दफा २९१ को उपदफा १ मा कुनै पशु वा पंक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्न रोक लगाइएको छ । परम्परादेखि पशु वा पंक्षीको बध गर्दै आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पंक्षी मार्न वाधा पर्ने छैन । यस प्रयोजनका लागि बाटो, सडक, पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँलाई सार्वजनिक स्थलको रुपमा व्याख्या गरिएको छ ।

धार्मिक स्थलमा पशु वा पंक्षीको बली दिनुपरे विकल्पमा हुन सक्ने अन्य उपाय भएसम्म अवलम्बन गर्न सकिने ऐनमा व्यवस्था गरिएको छ । कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । दफा २९२ ले कसूर भएको मितिले वा कसूर भएको थाहा पाएको मितिले तीन महिना भित्र उजुर लाग्ने गरि हदम्याद तोकेको छ ।

वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्वको कसूर

ऐनको दफा २९३ मा गोपनीयता विरुद्धको कसूरबारे उल्लेख गरिएको छ । ऐनअनुसार अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न पाइने छैन । उपदफा १ मा कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरी विना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अङ्कन गर्न पाइने छैन । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरिएको छ । सार्वजनिक रुपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू हुने छैन् ।

गोप्य कुरा प्रकट गर्न नहुने

ऐनको दफा २९४(१) मा कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको कुनै गोप्य कुरा कानूनले वाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि गोप्य कुरा प्रकट गर्न नपाइने भएको छ । कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने तोकिएको छ ।

त्यस्तै, ऐनको दफा २९५ अनुसार अनुमति विना कुनै व्यक्तिको तस्बिर खिच्न वा स्वरुप बिगार्न बन्देज गरिएको छ । उपदफा १ मा कसैले कुनै व्यक्तिको अनुमति विना तस्बिर खिच्न वा कसैको तस्बिरमा अर्को तस्बिर जोडेर अर्को तस्बिर बनाउन पनि रोक लगाइएको छ । तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचिए कसूर गरेको मानिने छैन । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय तोकिएको छ ।

उपदफा ३ मा कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न पनि बन्देज गरिएको छ । भने उपदफा ४ मा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

ऐनको दफा २९६ मा अनुमति विना एकको तस्बिर अरुलाई दिन वा बिक्री गर्न रोक लगाइएको छ भने उपदफा १ मा कसैले कुनै व्यक्तिको तस्बिर अनुमति विना अरुलाई दिन वा बिक्री गर्न वा झिझ्याउने वा सताउने, हैरान पार्ने वा कुनै अनुचित फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न पनि रोक लगाइएको छ । सो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय तोकिएको छ ।

त्यस्तै, दफा २९७ मा चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नपाइने व्यवस्था उल्लेख छ । उपदफा १ अनुसार अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमति विना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बीचमा सुन्न वा ध्वनी अङ्कन गर्न वन्देज लगाइएको छ । त्यस्तै, त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय तोकिएको छ ।

ऐनको दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनियता भङ्ग गर्न रोक लगाइएको छ । उपदफा १ अनुसार कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनियता भङ्ग गर्न वा अनधीकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन पाइने छैन । त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

ऐनको दफा २९९ मा छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न रोक लगाइएको छ । उपदफा १ अनुसार कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन प्रतिवन्ध लगाइएको छ । कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रावधान राखिएको छ ।

ऐनको दफा ३०१ मा अरुको शरीर खानतलासी गर्न नपाइने उल्लेख छ । उपदफा १ अनुसार कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति विना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्न वा गराउन पाइने छैन । कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय तोकिएको छ ।