प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगको यस्तो वस्तुगत विवरण, हेरौ पुरा विवरण

हेटौँडा,२२ श्रावण । प्रदेश नंबर ३ को नीति तथा योजना आयोगले वस्तुगत विवरण सार्वजनिक गरेको छ । वास्तविक धरातलमा आधारित नीति तथा कार्यक्रमले मात्र विकासका सम्भावनालाई लाभमा रुपान्तरण गर्न सक्ने जनाउँदै प्रदेश नंबर ३ को नीति तथा योजना आयोगले मंगलबार बस्तुस्थिति विवरण २०७५ सार्वजनिक गरेको हो ।
प्रदेशको राजधानी हेटौडामा मंगलबार आयोजना गरिएको एक औपचारिक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला मन्त्री शालिग्राम जम्मरकट्टेल, अर्थ मन्त्री कैलाश ढुंङ्ले भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटा, मुख्य सचिव रेश्मीराज पाण्डेलगायतका अधिकारीले विवरण सार्वजनिक गरेका हुन् ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पौडेलले — तथ्यमा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने बाटो तयार भएको जनाउँदै, अनुसन्धानमूलक विकासबाट प्रदेशको समृद्धि खोज्ने प्रयास गरिएको बताए ।
विवरणमार्फत सार्वजनिक गरिएको तथ्यले प्रदेशको समृद्धिका आवश्यक पर्ने बस्तुको पहिचान र सूचना व्यवस्थापन गर्न सहज हुने आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाको भनाइ छ । प्रदेशले सार्वजनिक गरेको विवरणबाट — विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति र योजना बनाउन तथा यस विषयमा खोज, अध्ययन र अनुसन्धान गर्न सजिलो हुने उपाध्यक्ष देवकोटाको विश्वाश छ । यसप्रकारका विवरण, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका अतिरिक्त राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र, विकास साझेदार, सरोकारवाला र अध्ययन अनुसन्धानकर्ता सबैका लागि उपयुक्त छन् । त्यसैले मिहनेत गरेर विवरण तयार पारिएको हो, सार्वजनिकीकरण समारोहमा उपाध्यक्ष देवकोटाले स्पष्ट पारे। बिविधतायुक्त भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था भएको प्रदेश समृद्धिका लागि प्राथमिक योजना तयार गर्न सके नागरिकलाई सरकारको उपस्थिति महसुस हुने बताउँदै आयोगका सदस्य श्यामकुमार बस्नेतले, महत्वपूर्ण कामको थालनी भएको बताए।

विवरण तयार पार्दाका आधारहरु
प्रदेश नीति तथा योजना आयोग गठन भएको ४५ दिनमै वस्तुस्थिति सम्बन्धी दस्तावेज तयार गरिएको हो । यसमा मूलतः २०६८ सालको जनगणनाको प्रतिवेदन, केन्द्रीय तथ्याङ्क विभागका पछिल्ला सर्वेक्षण प्रतिवेदनहरू, संघीय तथा प्रदेश मन्त्रालयले तयार पारेका विभिन्न दस्तावेजहरु, तथ्याङ्क कार्यालय तथा तत्कालीन जिल्ला विकास समितिले तयार पारेका जिल्लाको वस्तुस्थिति विवरण, जिल्ला तथा अन्य निकाय एवम् प्राज्ञिक र व्यवसायिक अनुसन्धान प्रतिवेदन, विकासका साझेदार र निजी तथा गैरसरकारी निकायबाट उपलब्ध भएका अध्ययन प्रतिवेदनलाई दस्तावेजको श्रोतका रुपमा लिइएको छ ।

यी आधारहरु मात्र बस्तुगत स्थितिको पूर्णताका लागि पर्याप्त नहुन सक्छन् । प्रदेशको विकास आधार तयार गर्न प्रारम्भिक तथ्य र तथ्याङ्कलाई श्रोत बनाएका हौं । यसको पूर्णताका लागि थप काम गर्नेछौं, उपाध्यक्ष देवकोटाको भनाइ छ ।

बस्तुस्थितिमा समेटिएका केही महत्वपूर्ण तथ्याङ्कहरू

  • २०,३०० बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको प्रदेश नं. ३ समुद्र सतहबाट १४१ मिटरदेखि ७,२२७ मिटरको उचाईसम्मको जमिन छ । सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडांै, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र चितवन गरी १३ जिल्ला रहेको यस प्रदेशमा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी गरी ११९ स्थानीय तह छन् ।
  • वि. सं. २०६८ को जनगणना अनुसार यस प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४५२ रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको २०.८७ प्रतिशत हो । यहाँको कुल जनसंख्यामध्ये ४९.६९ प्रतिशत पुरूष र ५०.३१ प्रतिशत महिला छन् । बार्षिक जनसंख्या वृद्धिदर १.९१ प्रतिशत रहेको यस प्रदेशमा कुल जनसंख्यामध्ये ४० बर्ष मुनिको व्यक्तिको संख्या ७५ प्रतिशत, ६० वर्ष उमेरमाथिका जेष्ठ नागरिकको संख्या ८.१३ प्रतिशत छ । प्रदेश (संस्थागत परिवारसहित) मा १२ लाख ७० हजार ७९७ परिवार छन् । यो नेपालको कुल परिवार संख्याको २३.४२ प्रतिशत हो भने औषत परिवार सख्या ४.३५ जना रहेको छ । प्रदेशमा ४ वा सोभन्दा कम सदस्य रहेको परिवार संख्या ६०.२३ प्रतिशत छ । यसबाट प्रदेशमा सानो परिवारप्रतिको आकर्षण बढी रहेको देखिन्छ ।
  • यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०,९०,०८५ हेक्टर) जमिन बनले र ७.५७ प्रतिशत (१,५३,७५९ हेक्टर) झाडी बुट््यानले ढाकेको छ । यस्तै २४.३४ प्रतिशत (४, ९४,०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै अर्थात ३०७ हेक्टर (०.२ प्रतिशत) जमिन ताल पोखरीले ओगटेको छ । यस प्रदेशको कुल जमिनको ४.९ प्रतिशत जमिन समतल, ४.९ प्रतिशत जमिन हल्का ढल्केको र २३.६ प्रतिशत जग्गा भिरालो भएपनि कान्ला वा गरा बनाएर खेती गर्न सकिने खालको छ । यी तीनै वर्गका गरी जम्मा ३३.४ प्रतिशत जग्गा खेतीयोग्य देखिन्छ ।
  • प्रदेशका सातवटा जिल्ला दोलखा, सिन्धुपाल्चोक, रामेछाम, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र धादिङको जनसंख्या बृद्धिदर नकारात्मक छ । प्रजनन दर कम भएका कारणले जनसंख्या बृद्धिदर नकारात्मक रहेको भनेर पत्याउन सकिने आधार छैन । तुलनात्मक रूपले काठमाण्डौ, ललितपुर र भक्तपुरको जनसंख्या बृद्धिदर बढी देखिन्छ । यी ७ जिल्लाका मानिसहरू काठमाडौं उपत्यका र अन्यत्र बसाई सरेको देखिन्छ भने ती जिल्लामा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधा तथा पूर्वाधारहरूको कमी छ । कृषि उत्पादकत्वको कमी, पहिरो आदि कारणले जनसंख्या बृद्धिदर नकारात्मक हुन गएको बिश्लेषण छ ।
  • प्रदेशको समग्र लैङ्गिक अनुपात (१०० जना पुरूषमा महिलाको संख्या) ९८.८ भए पनि ५ वर्ष मुनिको लैङ्गिक अनुपात १०० भन्दा माथि छ जुन सबैभन्दा बढी भक्तपुर जिल्लामा ११५.५३ छ । समग्र प्रदेशभित्र ५ वर्ष मुनिको लैंङ्गिक अनुपात १०८.२८ छ भने समग्र नेपालको १०४.९४ छ ।
  • नेपालको कुल जनसंख्याको ६२.९५ प्रतिशत मानिस शहर (नगरपालिकाहरू) मा र ३७.०७ प्रतिशत मानिस गाउँ (गाउँपालिकाहरू) मा वस्छन् । यस प्रदेशमा कुल जनसंख्याको ७२.५७ प्रतिशत मानिस सहरमा र २७.४३ प्रतिशत मानिस गाउँमा वस्छन् । नेपालको इतिहासमा सहरी जनसंख्या गाउँकोभन्दा बढी देखिएको यो पहिलो पल्ट हो ।
  • राष्ट्रिय जनगणना २०६८ का अनुसार ६७.२ प्रतिशत परिवारको पहुँच धारा वा पाइपको पानीमा देखिन्छ । तर खानेपानी तथा सरसफार्इ ्विभागका अनुसार यस प्रदेशको ९१ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ ।
  • यस प्रदेशमा परिवारले प्रयोग गर्ने शौचालयमध्ये ३५.९ प्रतिशत परिवारले फ्लसयुक्त शौचालयको प्रयोग गर्छन् । नेपाल जनसाख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार यस प्रदेशमा शौचालय नै नभएको परिवारहरुको प्रतिशत १७.२ रहेको छ ।
  • यस प्रदेशको कुल जनसंख्याको २०.४२ प्रतिशत तामाङ, १८.२८ प्रतिशत पहाडी ब्राह्मण, १७.२८ प्रतिशत क्षेत्री र १६.९२ प्रतिशत नेवार रहेका छन् भने मगर, कामी, गुरूङ, थारू, राई, दमाई, सार्की र चेपाङको उपस्थिति १ देखि ५ प्रतिशतभित्र छ । बाँकी अरू जातिको उपस्थिति १ प्रतिशतभन्दा कम छ । १३ मध्ये ७ जिल्ला सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाच्चोक, सिन्धुपाल्चोक र मकवानपुरमा तामाङ, दोलखा र रामेछापमा क्षेत्री, काठमाडौ र चितवनमा ब्राहमण र भक्तपुर र ललितपुरमा नेवार समुदायको संख्या बढी छ ।
  • यस प्रदेशमा नेपाली मातृभाषीको संख्या ५७.४ प्रतिशत, तामाङ् भाषी १८.३ प्रतिशत र नेवारी भाषी १२.३ प्रतिशत छन् । यसबाहेक मगर, थारू र मैथिली बोल्नेको संख्या १ देखि २ प्रतिशतभित्र छ । अन्य भाषा मातृभाषीको उपस्थिति १ प्रतिशतभन्दा कम छ ।
  • कुल जनसंख्याको १८.२ प्रतिशत जनसंख्या अनुपस्थित छन् । अनुपस्थितमध्ये ७९.५ प्रतिशत पुरुष र २०.५ प्रतिशत महिला छन् । अनुपस्थितिमध्ये धेरैजसो (५६.९३ प्रतिशत) निजी नोकरीका लागि विदेश गएका छन् । विदेश गएकामध्ये सबैभन्दा बढी (३७.३२ प्रतिशत) मध्यपूर्वमा गएका छन् ।
  • नेपालका ३९.९ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय भएकोमा यस प्रदेशका भने ४२.५ प्रतिशत आर्थिक रुपले सक्रिय छन्, जुन नेपालको औसतभन्दा २.६ प्रतिशतले बढी हो ।
  • नेपाल मानव बिकास प्रतिबेदन २०१४ अनुसार नेपालको सूचकाङ्क ०.४९० छ । यस प्रदेशको सूचकाङ्क ०.५५८ छ जुन सबैभन्दा उच्च हो । मानव विकास सूचकाङ्कमा नेपालका दश उत्कृष्ट जिल्लाहरुमध्ये यस प्रदेशका पाँच जिल्लाहरु क्रमश काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र काभ्रेपलाञ्चोक रहेका छन् ।
  • राष्ट्रिय कृषि गणना, २०६८ अनुसार यस प्रदेशमा सिंचाई हुने जग्गाको जम्मा क्षेत्रफल १,१३,९७३.९ हेक्टर छ । यो खेती भएको कुल जग्गाको ३४.७२ प्रतिशत हो । खेती भैरहेको ६५.२८ प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको छैन । यहाँ सिञ्चित जग्गाको क्षेत्रफलमध्ये सिंचाईको स्रोत अनुसार नदी, तलाउ (स्वतः वहाव) बाट ६२.८५ प्रतिशत, बाँध रिजरभ्वायरबाट १८.२६ प्रतिशत र बाँकी अन्य स्रोतबाट जग्गा सिंचित भएको देखिन्छ ।
  • यस प्रदेशमा मकै, गहुँ, जौ, आलु, तोरी, कफी, अलैंची, लसुन र मासको उत्पादकत्व नेपालको औसत उत्पादकत्वभन्दा बढी रहेको छ ।
  • जनसंख्याको ठूलो हिस्सा रहेको यस प्रदेशमा खाद्यान्न उत्पादन आवश्यकता अनुसार हुन सकेको छैन । आर्थिक वर्ष ०७३÷०७४ को तथ्याङ्क अनुसार यस प्रदेशमा जम्मा खाद्यान्नको उपलब्धता ८,५२,६८० मेट्रिक छन .छ भने खाद्यान्न आवश्यकता १२,४२,६१८ मेट्रिक टन रहेको छ । यसको आधारमा यस प्रदेशमा ३,८९,९६१ मेट्रिक टन खाद्यान्न न्यून रहेको छ ।
  • यस प्रदेशमा गाई र भैंसीको गरी ३ ५७,९३८ मेट्रिक टन दूध उत्पादन हुन्छ जुन नेपालको कुल दूध उत्पादनको १८.७ प्रतिशत हो । त्यसैगरी, भैंसी, खसी, बंगुरलगायत कुखुरा र हाँसको गरी जम्मा ७५,००६ मेट्रिक टन मासु उत्पादन हुन्छ जुन नेपालको कुल मासु उत्पादनको २२.५६ प्रतिशत हो ।
  • यस प्रदेशमा कुखुराका अण्डा ७,२०,०७१ हजार उत्पादन हुन्छ । नेपालको कुखुराको कुल अण्डाको ५४ प्रतिशत अण्डा यस प्रदेशमा उत्पादन हुने गरेको छ ।
  • यस प्रदेशमा करिब ७० प्रतिशत इन्धन र ४० प्रतिशत पशु आहारा वन क्षेत्रबाट उपलब्ध हुदै आएको छ ।
  • राष्ट्रिय निकुञ्ज तथा मध्यबर्ती क्षेत्रका हिसाबले यो प्रदेश महत्वपूर्ण छ । नेपालभर रहेका १२ वटा राष्ट्रिय निकुञ्जहरूमध्ये यस प्रदेशमा चितवन, लाङ्टाङ्, शिवपुरी र पर्सा गरी ४ वटा राष्ट्रिय निकुञ्ज रहेका छन् । राष्ट्रिय निकुञ्जमध्ये चितवन राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तब्य रहेको छ ।
  • नेपालको साक्षरता दर ६५.९४ प्रतिशत छ भने यस प्रदेशको साक्षरता दर ७४.८५ प्रतिशत रहेको छ । यो दर राष्ट्रिय साक्षरता दर भन्दा ८.९१ प्रतिशतले बढी हो । महिला र पुरूषको साक्षरता दर क्रमशः ६७.०४ र ८२.८२ प्रतिशत रहेको छ ।
  • औद्योगिक गणना २०६९ का अनुसार यस प्रदेशमा ९६५ वटा उद्योग (प्रदेशगत रूपमा सबैभन्दा बढी) रहेका छन् जसमा ४९ हजार १ जनाले जनाले रोजगारी पाएका छन् । उद्योग विभागका अनुसार २०७५ असार १४ सम्म यस प्रदेशमा मात्र ५ हजार ६३ ( ६७.६० प्रतिशत) उद्योग छन् । उद्योगको कुल लगानीलाई हेर्दा, यस प्रदेशमा ३७.७८ प्रतिशत लगानी रहेको छ । यहाँका उद्योगले कुल ठूला उद्योगले दिएको रोजगारीको ६०.८३ प्रतिशत हिस्सा ओगटेको छ ।
  • आ.व. २०७३/०७४ सम्मको घरेलु तथा साना उद्योगहरुको संख्यालाई हेर्दा करीव एक लाख (३७.६६ प्रतिशत) उद्योग यस प्रदेशमा छन् । यस प्रदेशमा भएका कुल उद्योगमध्ये ४३.५४ प्रतिशत उद्योग सेवा क्षेत्रमा, २७.१ प्रतिशत उत्पादनमुलक क्षेत्रमा, १५.६७ प्रतिशत पर्यटन क्षेत्रमा र १२.६७ प्रतिशत कृषि तथा वनजन्य क्षेत्रमा छन् । जिल्लागत रूपमा सबैभन्दा बढी उद्योग काठमाडौंमा र सबैभन्दा कम उद्योग रसुवामा छन् ।
  • यो प्रदेशमा चाँदी, तामा, फलाम, स्लेट, सिमेन्ट, म्याग्नेसाईट, अभ्रक, खरी, कोइला, कोवाल्ट, निकेल, खरी, गन्धक, मार्बल, युरेनियम, ग्याँस, गेरु आदिको प्रचुर संभावना छ । सरकारले नीजि क्षेत्रलाई खानी उत्खननका लागि दिएके १२६ मध्ये ४५ ओटा अनुमति पत्र यस प्रदेशमा दिएको देखिन्छ ।
  • नेपालमा रहेका ११ औद्योगिक क्षेत्रहरुमध्ये बालाजु, पाटन, भक्तपुर र हेटौडा औद्योगिक क्षेत्र गरी ४ वटा औद्योगिक क्षेत्र यस प्रदेशमा रहेका छन् । हेटौडाको मयूरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको डि.पि.आर. र इ.आइ.ए.को क्रममा छन् ।
  • विश्व सम्पदा सूचीमा सूचीकृत नेपालमा १० वटा मध्ये ८ वटा सम्पदाहरु यस प्रदेशमा पर्दछन् ।
  • २०७५ वैशाख १२ गतेसम्ममा कुल १००६.८ मेगावाट विद्युत उत्पादन भएकोमा यस प्रदेशमा ३४०.३ मेगा वाट छ । यस प्रदेशमा २३२६.६ मेगावाट विद्युत निर्माणाधीन अवस्थामा रहेको छ जुन निर्माणको चरणमा रहेका ४ हजार ६ सय ४१ मेगावाट आयोजना मध्ये ५० प्रतिशत भन्दा बढी हो ।
  • यस प्रदेशका सबै जिल्ला सदरमुकामहरूलाई कालोपत्रे सडकले जोडेको छ । जिल्ला सदरमुकामदेखि स्थानीय तहसम्म कुनै न कुनै किसिमको सडकले छोएको छ ।
  • यस प्रदेशमा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्य ५ वटा विमानस्थल रहेका छन् । बिमान स्थल भएर पनि लाङ्टाङ्, जिरी र मेघौली सञ्चालनमा छैनन् भने रामेछाप बिमानस्थलबाट पनि नियमित सेवा सञ्चालनमा छैन ।

यसरी यस प्रतिवेदनमा भूगोल, जनसंख्या, बन, जलस्रोत, पूर्वाधार, जीवनस्तर, जातीय विविधता, पेशा, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग र व्यापार लगायतका विषयमा तथ्य र तथ्याङ्क समेटिएका छन् ।

Promise Education Consultancy