पूर्वी चितवनमा अवैध उत्खनन् रोकिएन, तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

 

चितवन साउन २२ । अवैध रुपमा ढुंगा ,गिट्टी उत्खनन कार्यमा सलग्न तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो वेला गिट्टी,वालुवा उत्खनन कार्यमा स्वीकृत नहुने भएपनि आफुखुसी उत्खनन गरिरहेका छन् ।

सोही क्रममा इलाका प्रहरी कार्यालय खैरहनीले मंगलवार लदरी खोलाबाट तीन वटा ट्याक्टर नियन्त्रण लिएको हो । अवैध कार्यमा सलग्न ना ६ त ५२०३ ,ना ५ त ३६८६ र ना ५ त ६५२४ नम्वरको ट्याक्टर नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

यस अघि गत साता पनि गिट्टी उत्खनन कार्यमा सलग्न चार वटा ट्याक्टर नियन्त्रणमा लिईएको थियो । अवैध कार्य रोक्न जिल्ला समन्वय समितिले अनुगमन र निगरानी गर्नु पर्ने भएतापनि खैरहनी प्रहरीले भने सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

अवैध उत्खखनकै कारण खोलामा ठुलो खाल्डो वनाउँदा लदरी खोलामै दुई साताअघि दुई वालिकाको डुवेर ज्यान गएको थियो ।