भारतले निकासीमा लगाएको प्रतिबन्ध हटाएपछि नेपाली गोलभेँडा भारतीय बजारमा

इलाम, २२ साउन । भारतले नेपाली गोलभेंडा निकासीमा लगाएको प्रतिबन्ध हटाएपछि पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेंडा भारतीय बजारमा निकासी हुन थालेको छ। इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुममा उत्पादित गोलभेंडा भारतीय बजारसम्म निकासी हुन थालेको हो।

नेपालबाट भारत निर्यात हुने सामग्रीको सूचीमा गोलभेंडा नरहेको भन्दै असार १४ देखि भारतले गोलभेंडा निर्यात हुन दिएको थिएन। निकासी बन्द भएपछि करोडौं रुपैयाँको गोलभेंडा कुहिएको समाचार सार्वजनिक भइरहेका बेला प्रदेश र संघीय सरकारको समन्वयमा वार्ता गरी गोलभेंडाको निकासी सहज बनाउन पहल भएको हो। दुई पक्षीय वार्तापछि सोमबार नेपाली गोलभेंडा भारत निकासी हुन थालेको व्यवसायीहरुले जानकारी दिएका छन्। पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेंडा भारतको सिलिगुडीसहित विभिन्न बजारसम्म निकासी हुने गरेकोमा असार १४ देखि निकासी ठप्प भएको थियो।

निकासी खुकुलो भएपछि गोलभेंडा किसानले राहत महशुस गरेका छन्। दुवै देशका आपूर्ती मन्त्रालयका सचिव स्तरीय छलफलपछि सोमबारदेखि गोलभेंडा निकासीमा लगाइएको प्रतिबन्ध हटाउनका साथै नेपालबाट निर्यात हुने वस्तुको सूचीमा गोलभेंडालाई समावेश गर्न प्रकृया थाल्ने सहमति भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बताए।

Promise Education Consultancy