लोपोन्मुख झोरा गित र नृत्यको संरक्षणमा स्थानीय

सुशील सुबेदी
स्याङजा , २२ साउन । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं २ ज्यामिरे गाउँकी झोरा गायिका मन कुमारी गुरुङ्लाई सम्मान गरिएको छ । अली मिया लोक वाङ्मय प्रतिष्ठान पोखराले अली मियाको शतवार्षिकी तथा १२औँ स्मृति दिवसको अवसर पारेर सम्मान गरेको हो ।
स्रष्टाको गाउँ ज्यामिरे नै पुगेर पुतलीबजार नगरपालिकाकी प्रमुख सीमाकुमारी क्षेत्रीको प्रमुखले सम्मान पत्र हस्तान्तरण गरिन् ।
गाउँठाउँमा लुकेका प्रतिभालाई सम्मान गर्दै आएको प्रतिष्ठानले यस पटक झोरा गायिकालाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले नगरपालिकाले हरेक जातजातिका संस्कार र संस्कृतिलाई संरक्षण गरी सांस्कृतिक नगरीका रुपमा नगरपालिकालाई चिनाउन प्रयत्न गरिरहेको बताईन् । श्रेत्रीले भनिन् , ‘लुकेका प्रतिभा र लोपोन्मुख कला संस्कृतीको जगेर्ना गर्न नगरले बृहत कार्यक्रम ल्याउनेछ ।’
पुतलीबजार नगरपालिकामा बसोबास गर्ने २६ जातजातिको जातीय संस्कार र संस्कृतिको अनुसन्धान गरिरहेका तुलसी प्रवासको संयोजकत्वमा उक्त कार्यक्रम भएको थियो ।

आफू अनुसन्धानका क्रममा गाउँ डुल्दा ज्यामिरे गाउँको झोराबाट निकै प्रभावित भई उक्त गायिकालाई सम्मानको प्रस्ताव गरेको भनाई तुलसी प्रवासको छ ।उनी भन्छन् ,‘यस क्षेत्रमा लोपोन्मुख घाँटु , झोरा लगाएतका संस्कृती अझै बांचीरहेको छ , पुस्ता हस्तान्तरण हुन जरुरी छ । ‘
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले स्रष्टाको गाउँमै पुगेर सम्मान गर्दा आफूलाई निकै आनन्द महसूस भएको विचार व्यक्त गरे ।
के हो झोरा ???
गुरुङ जातिमा प्रचलित झोरा सती घाटुको प्रदर्शनपश्चात गाउने गरिन्छ । सती घाटुमा नर्तक नर्तकीहरू रुँदै नाच्ने र उनीहरूको नाच हेरेर त्यहाँ अन्य दर्शकहरू पनि रुने भएकाले सती घाटुको समापनपश्चात झोरा नृत्य देखाइन्छ । अन्त्यमा उनीहरू झोरा र झाम्रे गीत तथा नाच प्रस्तुत गरेर मनोरञ्जन लिने गर्दछन् ।

यस नृत्यमा गरगहना र पहिरन घाटुको जस्तै हुन्छ तर बाजाको ताल र गीतको भाकामा फरकपन हुन्छ । वास्तवमा घाटु नृत्य गर्दागर्दै दर्शक र कलाकारहरुलाई नियास्रो नलागोस् भनेर मनोरञ्जनका लागि झोरा नृत्य नाच्ने गरिन्छ ।

यसको भेषभुषा र प्रस्तुति सबै घाटु नाचसँग मिल्दोजुल्दो हुन्छ । यसमा बाजाको रुपमा मादल, खैँजडी र मुजुराजस्ता परम्परागत बाजाहरुको प्रयोग गरिन्छ । यसका स्थानीय परिवेश अनुसार १५–२० थरीका भाकाहरु पाउन सकिन्छ ।

भनिन्छ घाटुमा पहिलो चरण घाटु, दोस्रो चरण झोरा र तेस्रो चरण झाम्रे हो । कतिपय ठाउँमा अहिले घाटुको प्रचलन हराइसकेको छ भने झोरा र झाम्रे पनि लोपोन्मुख र संरक्षणको पर्खाइमा रहेको छ ।
अझै बाँचेको छ यो संस्कृती
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको वार्ड नं २ मा पर्ने ज्यामिरे गाउँ, वार्ड नं ९ मा पर्ने कोल्मा र पोखरीछाप गाउँमा अत्यन्तै सुन्दर झोरा गीत र नाच रहेको पाइन्छ ।

ल्होसार तथा अन्य विशेष अवसरमा यस ठाउँका महिला तथा पुरुषहरू झोरा नृत्यमा झुम्ने गरेको पाइन्छ तर अहिलेको नयाँ पुस्ता भने आफ्नो यस सांस्कृतिक सम्पदाप्रति परिचित रहेको देखिँदैन ।

झोरा नाच्नुभन्दा अगाडि यी गाउँहरूमा घाँटु नाच्ने गरिन्थ्यो । सती घाँटुमा नर्तक, नर्तकीहरू रुँदै नाच्ने र दर्शकहरूलाई समेत रुवाउने गर्दथे । यही रुवाइमा मनोरन्जन प्रदान गर्न झोरा नाच्ने गरिन्थ्यो तर अहिले आएर घाँटुको चलन हराइसकेको देखिन्छ भने झोरा पनि केही निश्चित मानिसहरूमा मात्र सीमित रहेको देखिन्छ र यो संरक्षणको पर्खाइमा रहेको पाइन्छ ।

Promise Education Consultancy