सम्पादकीय : हारको अनुभूति नहुने न्याय

जटिल प्रकृति बाहेकका अन्य मुद्दाहरु पछिल्लो समय समाजमा नै मिल्ने गरेका छन् । समुदायमा रहेको सामदायिक मेलमिलाप केन्द्र तथा स्थानीय न्याय सम्पादन समितिले घरयासी मुद्दामामिलाहरु मिलाउने गरेका छन् । अदालती झण्झटबाट मुक्ति पाउने तथा चाँडो न्याय पाउने हुँदा समेत समुदायमा स्थापना गरिएका मेलमिलाप केन्द्रहरु सफल बन्दै गएका छन् । गम्भीर प्रकृतिका घटनाहरु, सरकारबादी मुद्दाहरु बोहेकका घरयासी झगडा, जग्गा बिबाद जस्ता मुद्दाहरु सामुदायिक मेलमिलाप केन्द्र तथा स्थानीय न्याय सम्पादन समितिले मिलाउने गरेको छ ।
गत वर्षदेखि स्थानीय तहहरुले समेत न्याय सम्पादनको जिम्मा पाएपछि घरायसी मुद्दामामिला गाउँमा नै समाधान हुन थालेको छ । जसले गर्दा अदालतलाई समेत मुद्दाको चाप कम भएको छ । गाउँमा नै सहमतिमा न्याय मिलाउने परिपाटीले पीडितले समेत न्याय पाएको अनुभूति गर्न सक्दछ भने पीडितकले समेत गल्ती महसुस गर्छ । समुदायमा मेलमिलापमा न्याय प्रदान गरिएपछि पीडित र पीडिक पक्षबीचमा समेत मनमुटाबको अवस्थाको अन्त्य हुन्छ । दुवैले जीतको अनुभूति गर्ने गरि मेलमिलापमा मुद्दाको फैसला हुने गरेको छ । चितवनका सबै स्थानीय तहहरुले राम्रोसँग न्याय सम्पादन गरेका छन् । स्थानीय तहको उपप्रमुखले मुद्दा हेर्ने न्यायिक समितिको संयोजक भएर काम गर्ने ऐनले व्यवस्था गरेको छ ।
भरतपुर महानगरपालिकाले सम्पादन गरेका मुद्दामामिला मध्ये १९ वटा गम्भीर प्रकृतिका मुद्दाहरुलाई अदालती प्रकृयामा पठाइएको छ । महानगरपालिकाले वडा वडामा न्याय हेर्ने व्यवस्था मिलाएको छ । न्याय सम्पादन समितिले फैसला गर्न गाह्रो भएको विषयको मुद्दालाई मात्रै अदालतमा पठाइने र त्यसरी पठाइएको मुद्दाको फैसला चाँडै नै हुँदै आएको छ । समाजमा हुने कतिपय घटनाहरु मेलमिलापमा टुङ्गाउन सकिने भएपनि केही सामाजिक अपराध जस्ता विषयहरुलाई भने अदालतको ढोकामा पठाउनु नै उचित हुन्छ । मेलमिलापले धेरै मुद्दाहरु समाधान गराउने र पीडितले न्यायको अनुभूति गर्ने भएपनि समाजमा हुने बलात्कार, हत्या जस्ता घटनाहरुलाई भने अदालती प्रकृयामा लैजानु उपयुक्त हुन्छ । मेलमिलापमा न्याय सम्पादन गराउने नाममा जघन्य अपराधमा संलग्नलाई भने उन्मुक्ति दिनु न्यायको सिद्धान्त विपरित हुन्छ ।

Promise Education Consultancy