देवघाटधाममा साउन स्नान गर्ने तीर्थालुको भीड, स्थानीय प्रशासनको पहिलो प्राथमिकतामा देवघाट (भिडियो)

चितवन, २२ साउन । अन्य समयमा भन्दा साउन महिनामा स्नानको लागि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनहरुको उल्लेख्य सहभागिता रहने गरेको छ । साउन महिनालाई पवित्र महिनाको रुपमा धर्मशास्त्रले समेत व्याख्या गर्दै यस महिनाको सोमबारलाई भगवान शिवको प्यारो दिनको रुपमा मान्दै पवित्र तीर्थस्थलमा स्नान गर्दै शिवको पूजा आराधाना गर्ने गरिन्छ ।
देवघाटमा साउन स्नान गर्नको लागि चितवन, नवलपरासी तथा तनहूँका साथै देशका विभिन्न स्थान र भारतबाट समेत तीर्थालुहरु आउने गर्दछन् । देवघाटमा आउने भक्तालुहरुलाई सुरक्षित तरिकाले स्नान गर्ने व्यवस्था मिलाउन तथा पूजाआजा गर्ने व्यवस्था मिलाउनको लागि स्थानीय प्रशासनले आफ्नो पहिलो प्राथमिकता दिएको छ । तनहूँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले साउन स्नानलाई सु–व्यवस्थित बनाउनको लागि देवाघाटधामलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।

 

‘साउनको सोमबार मात्रै नभएर महिना भरी नै देवघाटमा तीर्थालुहरु स्नान गर्नका लागि आउने गर्दछन्’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, –‘उनीहरुलाई राम्रोसँग स्नान गर्ने व्यवस्था मिलाउनुका साथै, शान्ति सुरक्षा कायम गर्नु स्थानीय प्रशासनको पहिलो प्राथमिकता हो ।’ कालीगण्डकी गहिरो तथा त्रिशूलीको बहाब बढी भएकाले सुरक्षित रहेर स्नान गर्नका लागि सूचनामूलक सन्देशहरु टाँगेको शर्माले बताए । त्यस्तै, कुनै अप्रिय घटना नहोस् भनेर देवघाटको बेणी संगममा डुंगा सहितको उद्धार टोली राखिएको शर्माले बताए ।
गोसाईँकुण्डबाट बग्दै आएको त्रिशूली र मुक्तिनाथबाट बग्दै आएको कालीगण्डकी नदीको संगमस्थल देवघाटमा भगवानहरु समेत स्नान गर्ने किंवदन्ती रहँदै आएको छ । देवघाटधाममा आउने भक्तजनहरुलाई कुनै असुविधा नहोस् भनेर क्षेत्र विकास समितिले विभिन्न काम गर्दै आकस्मिक घटना हुन नदिन पूर्व तयारी समेत गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । साउन महिना भरी र विशेष गरि सोमबार नदीमा स्नान गर्ने भक्तालुहरुको भीड बढी हुने र नदीको बहाब पनि बढी हुने भएकाले चितवन तर्फ सशस्त्र प्रहरीको गोदाखोर समेत सतर्कताका साथ परिचालन गरिएको पौडेलले बताए ।
‘मानिसहरु धेरै आउने भएकाले सबैलाई निगरानी गर्न सकिदैन’ पौडेलले भने, –‘गहिरो भागमा गएर स्नान नगर्नुस् भन्दा पनि मानिसहरु गइरहेका हुन्छन्, त्यसैले त्यस्ता दुर्घटनाबाट तीर्थालुहरुलाई जोगाउनको लागि उद्धार टोलीको साथमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ देवघाटमा रहेको चितवन र तनहूँलाई जोड्ने झोलुङ्गे पुल जिर्ण भएकाले सो पुल भएर नदी तर्नका लागि लाइन लगाएर हिँड्ने तथा एक पटकमा एक सय जना जति भक्तहरुलाई मात्रै पुल तर्न दिइने पौडेलले बताए । देवघाटको वेणी संगममा स्नान गर्नका लागि भक्तजनहरुको भीड बाक्लो हुने भएकाले व्यवस्थित गर्नको लागि क्षेत्र विकास समितिले विभिन्न उपसमिति निर्माण गरेर काम गरिरहेको पौडेलको भनाइ छ ।
पौराणिक कालदेखि नै पवित्र तीर्थस्थल देवघाटधामले छुट्टै विशेषता बोक्दै आएको धार्मिक सेवा समिति मौलाकालिकाका पूर्व अध्यक्ष विष्णुहरि रिमालले बताए । त्रिशूली र कालीगण्डकी नदीको वेणी संगमस्थलमा साउनको सोमबार स्नान गर्दै भगवान शिवको पूजा गरेमा मोक्ष प्राप्त गर्ने विश्वासका साथ भक्तजनहरु यहाँ आउने रिमालको भनाइ छ । विभिन्न पर्वहरुमा यहाँ भक्तजनहरुको ठूलो भिड लाग्ने र विशेष गरि ग्रहण लाग्दा, ठूलो एकादशी, माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति र साउन महिनाभरी भक्तजनहरुको स्नानको लागि आउने रिमालले बताए ।
देवघाटधाममा स्नानको लागि वेणी संगमस्थलमा क्षेत्र निर्धारण गरिएको छ भने चितवन तर्फको भागमा समेत स्नान गर्न दिइएको छ । दुई नदीको संगमस्थल तथा विभिन्न धार्मिक मठमन्दिरहरु रहेको देवघाट क्षेत्रको बारेमा शास्त्रमा समेत वर्णन भएकोले देवघाटलाई विशेष महत्वका साथ हेरिने गरेको छ ।