जिल्ला वनद्वारा चार लाख बिरुवा वितरण

चितवन, २० साउन । जिल्ला वन कार्यालय चितवनले उत्पादन गरेको बिरुवा मध्ये यस वर्ष चार लाख बिरुवा वितरण गरेको छ ।
निजी वन तथा वृक्ष सुधार कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय चितवनले दुई लाख बिरुवा खरिद तथा कार्यालयले उत्पादन गरेको साढे तीन लाख बिरुवा मध्ये चार लाख बिरुवा वितरण गरिएको हो । कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेलका अनुसार यस वर्ष जिल्ला वन कार्यालय चितवनमा दुई लाख ५० हजार, शक्तिखोरमा ५० हजार, खैरहनीमा ५० हजार, तथा विभिन्न चार वटा निजी नर्सरीबाट दुई लाख बिरुवा तथा कालिका नगरपालिकाको लागि ५० हजार गरि साढे पाँच लाख बिरुवा उत्पादन गरिएको थियो ।
जिल्लामा बकाइनो, म्याङ्गोष्टिक, कपुर, बडहर, टाँकी, कपुर, अशोक जस्ता बिरुवाहरुको बढी माग हुने गरेको पौडेलले बताए । जिल्ला वन कार्यालय चितवनमा उत्पादन भएका बिरुवा मध्ये राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लगायत जिल्ला वन कार्यालयको कार्यक्रम लागि साढे एक लाख बिरुवा तथा अन्य बिरुवाहरु समुदाय तथा निजी वनको लागि उत्पादन गरिएको हो ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणको दुई सय २० केभी प्रसारण लाइन निर्माण गर्दा बिरुवा काटिएको कारण त्यसको क्षतिपूर्तिका लागि समेत बिरुवा उत्पादन गरिएको थियो । दुई सय २० केभी प्रसारण लाइनले काटेको एउटा रुखको क्षतिपूर्ति स्वरुप २५ वटा वटा बिरुवा रोप्ने सम्झौता भएको जिल्ला वन कार्यालय चितवनले जनाएको छ ।
कार्यालयमा २४ प्रजातिका बिरुवाहरु उत्पादन भएका छन् । गत वर्ष नौ लाख बिरुवा उत्पादन गरेको जिल्ला वन कार्यालयले यस वर्ष भने थोरै बिरुवा उत्पादन गरेको हो ।