बेरोजगारलाई भत्ता दिने गरि कानुन निर्माण हुँदैछ : सभापति पोखरेल

चितवन, २० साउन । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले आगामी असोज ३ गतेसम्म बेरोजार युवालाई भत्ता दिने गरि कानुन निर्माण गरिने बताएका छन् ।
राज्यले देशमा सबैलाई रोजगार दिने भनेर संविधानमा नै उल्लेख गरेको कारण बेरोजगार भएका युवाहरुलाई भत्ता दिने गरि कानुन निर्माण भइरहेको पोखरेलले बताएका हुन् । चितवनको भरतपुरमा सोमबार आयोजना गरिएको तरकारी फलफूल ढुवानी मजदुर युनियनको पहिलो अधिवेशनका क्रममा पोखरेलले कानुन निर्माण भएपछि नागरिकले भोकै बस्नुपर्ने दिनको अन्त्य हुने बताए ।
कार्यक्रममा सहभागीहरुले देशमा हुने सबै परिवर्तनमा यातायात मजदुरहरुको भूमिका रहने गरेको भएपनि परिवर्तन पश्चात मजदुरहरुलाई पछाडि पार्ने गरिएको गुनासो गरेका थिए । संविधानले नै मजदुरका हक अधिकारहरुलाई सुरक्षित गरेको अवस्थामा राज्यले हुनेखानेको कुरा सुनेर मजदुरहरुका ऐनलाई कार्यान्वन नगरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले बताए । मजदुरको तलबभत्ता, बिरामी बिदा तथा अन्य सेवा सुविधाको मारेमा ऐनमा उल्लेख गरिएको भएपनि कार्यान्वयन हुन नसक्दा मजदुरहरु अन्यायमा परेका राईको भनाइ थियो ।
नेपाल यातयात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर ३ का ईन्चार्ज ठाकुर कुमार श्रेष्ठ, उपाध्यक्ष कृष्ण पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर ३ की महिला सचिव मिना धिताल, अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनका संयोजेक यदुमणि पोखरेल, जिफन्ट भरतपुर महानगर कमिटिका ईन्चार्ज गोविन्द अर्याललगायतले मजदुरका हक अधिकारको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
तरकारी फलफूल ढुवानी मजदुर युनियनका अध्यक्ष ओमलाल थिङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष कृष्ण परियारले स्वागत मन्तव्य राखेका थिए । यसैबीच, सोमबार नै भएको पहिलो अधिवेशनबाट ओमलाल थिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा कृष्ण परियार, सचिवमा टिकाराम परियार तथा कोषाध्यक्षमा राजन ढकाल निर्वाचित भएका छन् ।

Promise Education Consultancy