अपहृत बालकको हत्याः दुई अपहरणकारी पनि प्रहरी इन्काउन्टरमा मृत्यु

काठमाडौं, २१ साउन । एघार वर्षिय निशान खड्काको अपहरण गरि हत्या गर्ने दुई अपहरणकारी प्रहरी इन्काउनटरमा मारीएका छन् ।
दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो। भक्तपुरको सूर्यविनायकमा उनीहरु मारिएका हुन्। अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका हुन्। दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।

उनीहरुले आइतबार नै बच्चाको अपहरण पछि हत्या गरेका थिए। अपहरणकारीले बालककी आमालाई २ पटक फिरौती माग्दै फोन गरेका थिए। पछिल्लो पटक उनीहरुले ४० लाख मागेका थिए। तर,फिरौती आउन नसक्ने देखेपछि आइतबार नै कोठामा लगेर हत्या गरेको र नजिकै लगेर गाडेका थिए। बालकको परिवारसँग चिनजान रहेको र पोल खुल्ने डरले बच्चाको अपहरणपछि हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन्।

अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन्। उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी लगेका हुन्।
घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए। अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए।