चितवनका कानुन व्यवसायी चुनावी दौडमा

चितवन, २० साउन । यही साउन २५ गते हुने चितवन जिल्ला अदालत वार एसोसिएसनको २०औँ अधिवेशनको लागि कानुन व्यवसायी चुनावी दौडमा उत्रेका छन् ।

पेसागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पिएलए) र प्रजातान्त्रिक कानुन व्यवसायी (डिएलए)) बीच हुने प्रतिस्पर्धामा दुवै समूह आफू अगाडि रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायी संगठनबाट अधिवक्ता कमलराज पाठक र प्रजातान्त्रिक कानुन व्यवसायी संघबाट अधिवक्ता नीलकण्ठ अधिकारीले आफ्ना समुहको प्यानल खडा गरी अध्यक्षको उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रेका छन् ।
दुवैपक्षले जित्ने दाबी गरिरहँदा पिएलए समूहले जित्ने आधारहरु प्रष्ट रहेको सो समूहको दाबी छ ।

चितवन बार एसोसिएसनका अध्यक्ष गोपीलाल देवकोटाले बारमा पिएलएको नेतृत्व आएपछि भौतिक संरचना निर्माण गरिएको, कानुन व्यवसायीहरुको पेसागत हकहित र सुरक्षामा निरन्तर लागेको र डिएलए नेतृत्वमा जाँदा चौतारामा झोला राखेर हिँडेकोले पिएलएको जित निश्चित भएको दाबी गरेका छन् । पिएलएका उम्मेदवारमा नेतृत्वदायी र कमाण्डिङ क्षमता रहेको मतसंख्या पनि बढी भएकोले सजिलै जित्ने कुरामा ढुक्क भएको उनको भनाइ छ ।

त्यसैगरी, डिएलए समूहका अध्यक्षका उम्मेदवार नीलकण्ठ अधिकारीले मतदाताको मन जितेर सांगठनिक रुपमा अगाडि बढेकाले आफ्नो समूहले जित्ने दाबी गरे । आफूले जितेपछि नेपाल बारहरुको साझा र संस्थागत अभियानलाई अगाडि बढाउने बताए । डिएलए चितवनका अध्यक्ष विष्णु अर्यालले आफ्नो संगठन बलियो भएको र भावनात्मक रुपमा एक भएर अगाडि बढेकाले आफ्नो समूहले जित्ने दाबी गरे ।

१३ सदस्यीय कार्यसमिति र ८ जना पार्षद्का लागि हुने निर्वाचनमा पिएलएबाट अध्यक्ष पदमा अधिवक्ता कमलराज पाठक, उपाध्यक्षमा अधिवक्ता हरिबहादुर मैनाली, सविचमा अधिवक्ता धर्मेन्द्र थापा, कोषाध्यक्षमा अधिवक्ता सूर्यबहादुर बोहरा, सहसचिवमा अधिवक्ता सरिता सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यसैगरी सदस्यहरुमा अधिवक्ता भवानी लोहनी, अधिवक्ता अजयकुमार तामाङ, अधिवक्ता नारायण गिरी, अधिवक्ता विकास गुरुङ, अधिवक्ता तुलसीराम पाण्डे, अधिवक्ता शिवराम महतो, अधिवक्ता टेकनाथ अधिकारी, अधिवक्ता अर्जुनबाबु तिवारी, अधिवक्ता जनकराज पौडेल र अधिवक्ता बद्रीनाथ पण्डितले उम्मेदवारी घोषणा गरी चुनावी प्रचारप्रसारमा लागेका छन् ।

त्यसैगरी डिएलए समूहबाट अध्यक्ष पदका लागि अधिवक्ता निलकण्ठ अधिकारी, उपाध्यक्षमा अधिवक्ता हिरादत्त तिवारी, सचिव अधिवक्ता धर्म वाग्ले, कोषाध्यक्ष अधिवक्ता बलराम पौडेल र सहसचिव पदका लागि अधिवक्ता गोमा न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी सदस्यहरुमा अधिवक्ता पृथ्वीदेवी सुवेदी, अधिवक्ता शेखरनाथ पोख्रेल, अधिवक्ता विजयराज ढकाल, अधिवक्ता विष्णुहरि कोइराला, अधिवक्ता वासुदेव आचार्य, अधिवक्ता विनोदकुमार अधिकारी, अधिवक्ता पूर्णचन्द्र चापागाईं र सुरेन्द्रराज सुवेदीले पनि उम्मेदवारी दिने बताएका छन् । दुवै समूहबाट ८÷८ जनाले पार्षद्का लागि उम्मेदवारी दिने भएका छन् ।

Promise Education Consultancy