मनहरीमा पाटे बाघको आतंक नसकिँदै हात्ती आतंक सुरु

मकवानपुर, १९ साउन । समय–समयमा पाटे बाघको त्रासमा बाँच्ने गरेका मनहरी गाउँपालिकाका दुई वडामा पूनः हात्ती आतंक सुरु भएको छ । बाघले मान्छे मार्नेसम्मको पिडा बोकीसकेको मनहरीमा यो अर्को समस्या सुरु भएको हो ।

मनहरी गाउँपालिकाको दुई वटा वडाको बस्तीमा केही दिन यता देखि जंगली हात्तीको आतङ्क बढेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । गाउँपलिकाको वडा नम्बर ६ प्रतापपुर र ७ नम्बर वडाको रमौलीमा हात्तीको आताङ्क बढेको हो । स्थानीयको घरगोठमा थन्काएको अन्नपात हात्तीले घरगोठ नै भत्काएर खाना थालेका छन् । शुक्रबार राति मात्र मनहरी ७ रमौलीका टेक बहादुर बिष्टको घर तथा घरको पाली हात्तीले भत्काएको पिडीत बिष्टले बताए । त्यस्तै शनिबार मनहरी ६ प्रतापपुरका रामबहादु चेपाङको घर भत्काई घरमा भएको मकै सखाप पारेको बताइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट राप्ती खोला पार गदै ३ ओटा हात्ती दिनानुदिन रमौली प्रतापपुर बस्तीमा प्रवेश गर्न थाले पछि स्थानिय बासिन्दाहरुमा त्रास फैलिएको छ । अन्नबाली सबै सखाप गरिदिए पछि स्थानीयहरु चिन्तित भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती मनहरी क्षेत्र ब्यबस्थापन समितिको बेवास्ताका कारण बस्तीमा दिनदिनै हात्तीले बस्तीमा गरेर दुःख दिएको स्थानीयले दुखेसो पोखेका छन् । आफ्ना अन्नबाली तथा अन्य भौतिक सम्पत्तिको समेत हात्तीले क्षति पुराएपछि निकुञ्जप्रति स्थानीयले आक्रोश समेत पोखेका छन् ।