संसदीय अभ्यासबारे विद्यार्थीलाई जानकारी

चितवन, १९ साउन । चितवन, नवलपरासी र तनहूँका विद्यार्थीलाई संसदीय अभ्यास गराइएको छ । व्यवस्थापिका संसदमा हुने बहस तथा कार्यहरुको झल्को दिने गरि २८ विद्यालयका विद्यार्थीहरुलाई संसदीय अभ्यास गराइएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् तथा स्कुल लाष्टिक एकेडेमिक फोरमको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमलाई नारायणी बहस नाम दिइएको थियो । तीन जिल्लाका कक्षा ८, ९ र १० मा पढ्ने ५६ जना विद्यार्थीहरुलाई बहसमा सहभागी गराइएको प्राज्ञिक विद्यार्थी परिषद् गैंडाकोट नगर एकाई विद्यार्थी विस्तारक बहादुर नाथले बताए ।
संसदीय अभ्यासमा काठमाडौँमा कानुन विषय अध्ययन गर्दै गरेका उज्ज्वल विक्रम विष्ट, उज्ज्वल भट्टराई र रोजीना रिजालले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । यसरी विद्यार्थीहरुलाई संसदीय अभ्यास गराइएपछि उनीहरुले संसदमा हुने विषयमा जान्न पाउने र राजनीतिक बुझ्न सक्ने आयोजकको भनाइ छ । बेलायतका हरेक विद्यालयमा संसदीय अभ्यास गराइने भएपनि नेपालमा यो अभ्यास नौलो भएकाले सबै जिल्लामा कार्यक्रम गर्ने तयारी गरिएको प्राज्ञिक विद्यार्थी परिषद्ले जनाएको छ ।