कांग्रेसको महासमिति बैठक अन्यौलमा

काठमाडौं, १९ साउन । भदौमा गर्ने भनिएको महासमिति बैठकको मिति र स्थान मध्य साउन वितिसक्दा पनि तय नहुँदा बैठकबारे अन्यौल देखिएको छ । शीर्ष नेताहरूबीच महासमिति भेलाका लागि विधान मस्यौदा समिति बनाउन सहमति भए पनि सभापति शेरबहादुर देउवाले समितिको घोषणा गर्न सकेको छैनन । संघ र प्रदेश निर्वाचनमा पराजित भएपछि महासमिति भेलाको माग कांग्रेस भित्र निरन्तर उठ्दै आएको थियो । गत वैशाखमा भएको कांग्रेस केन्द्रीय समितिको बैठकले जेठमा जिल्ला सभापति भेला र भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।

सहमहामन्त्री डा। प्रकाशशरण महतले महासमिति भेलामा पेश गर्नुपर्ने विधान मस्यौदाका लागि समिति गठन नहुँदा नेतृत्वलाई अप्ठयारो परेको बताए । महतले भने, ‘शीर्ष बैठकमा विधान मस्यौदा समिति गठन गर्ने सहमति भए पनि बरिष्ट नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समितिका लागि सदस्यको नाम नदिँदा घोषणा हुन सकेको छैन ।’

सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा डाकेको अनौपचारिक बैठकमा पौडेलसहितका नेताले महामन्त्री पूर्णबहादुर खडका नेतृत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति बनाउने सहमति जुटेको थियो ।

बैठकमा चारजना सभापति देउवा र चारजना पौडेल समूहले सिफारिस गर्ने निष्कर्ष निकालिएको थियो । सोही बैठकमा दुवै नेताले नाम समेत सिफारिस गरेका थिए । तरपछि पौडेलले आफूले दिएको नाममा काटछाट गर्ने भनेपछि समिति गठन हुन सकेको थिएन । आजको अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।

Promise Education Consultancy