सन्दीप आजदेखि १८ वर्ष लागे, शुक्रबार नेदरल्याण्डविरुद्ध खेलेर सीपीएल खेल्न जाने

चितवन, १७ साउन ।  इन्डियन प्रिमियर लिगमा आफ्नो अनुभव संगाल्ने सबैभन्दा पहिलो नेपाली क्रिकेट खेलाडी नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आजदेखि १८ वर्ष लागेका छन् ।

स्यांजाको अरुचौरमा जन्मिएका सन्दीपले आइपीएलमा आफूले उत्कृष्ट प्रदर्शन गरेपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यू गरिसकेका छन् । यति मात्र नभएर सन्दीपलाई क्यारेबियन प्रिमियर लिगमा खेल्नका लागि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले पनि ५ हजार डलरमा खरिद गरेको छ । उनलाई ६ महिना अघि लण्डनमा भएको अक्सनबाट खरिद गरेको हो ।

शुक्रबार एमस्ट्राडमको भिआरए मैदानमा दोस्रो खेल खेलेपछि सन्दीप सीपीएलका लागि क्यारेबिन जानेछन् भने अन्य नेपाली टोली नेपाल फर्किने छ । क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुदैंछ ।
यसैगरी नेपालले खेल्ने एसिया कप छनोट अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा आयोजना हुनेछ । सो खेलका लागि सन्दीप उतैबाट मलेसिया लाग्नेछन् ।