नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा

चितवन, १७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

सडकको स्तरोन्नतिका क्रममा भित्ता काटिएका कारण जुनसुकै समयमा पहिरो जान सक्ने भन्दै सबैलाई सजग भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसअघि दुई हप्ताअघि साउन ३ गते तोपेखोलामा पहिरो खसेपछि यो सडकखण्डमा पहिरो खसेको थिएन । त्यसअघि २७ किलो भालुढुंगा, चारकिलो चोरखोला र तोपे खोला लगायतका ठाउँमा दिनहुँ पहिरो जाँदा १२ घण्टासम्म अलपत्र बस्नुपर्ने अवस्था थियो ।

अहिले नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो खसिरहने ठाउँमा बायोइन्जिनियरिङ, स्लोप ट्रिमिङ र रक नेटिङ जस्ता विधि अपनाएपछि कम पहिरो खस्दा यात्रुलाई केही राहत मिलेको छ ।

Promise Education Consultancy