दुई ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 

चितवन, १७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चलन गरिएको छ   ।

यसअघि दुई हप्ताअघि साउन ३ गते तोपेखोलामा पहिरो खसेपछि यो सडकखण्डमा पहिरो खसेको थिएन । त्यसअघि २७ किलो भालुढुंगा, चारकिलो चोरखोला र तोपे खोला लगायतका ठाउँमा दिनहुँ पहिरो जाँदा १२ घण्टासम्म अलपत्र बस्नुपर्ने अवस्था थियो ।

अहिले नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो खसिरहने ठाउँमा बायोइन्जिनियरिङ, स्लोप ट्रिमिङ र रक नेटिङ जस्ता विधि अपनाएपछि कम पहिरो खस्दा यात्रुलाई केही राहत मिलेको छ ।

Promise Education Consultancy